RayNewsDaily
भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलन, भाषा र संस्कृति संरक्षणमा जोड
  • ‘जनता बाँचे भाषा बाँच्छ’ नारासहित सम्मेलन आयोजना ।
  • कविता, कथा, निबन्ध वाचनसँगै सांस्कृतिक प्रस्तुति ।
  • नयाँ पुस्तालाई नेपालभाषामा सिर्जना गर्न प्रोत्साहन ।

ख्वप (भक्तपुर) । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम भइरहेको छ । ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ हरेक वर्ष आयोजना हुँदै आएको सम्मेलन यस वर्ष भक्तपुर नगरपालिका-७ गोमारीको यातामा सञ्चालन भइरहेको हो ।

सांस्कृतिक गुरु एवं ज्येष्ठ नागरिक मोतिबहादुर खायमलीले आज बिहान सम्मेलनको उद्घाटन गर्नुभएको हो । सम्मेलन राति ११ः०० बजेसम्म चल्नेछ । सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन गरिनुका साथै नाटक, ख्याल, नृत्य, गीतिनाटक र गीतलगायत सांस्कृतिक प्रस्तुति गरिने आयोजकले जनाएको छ ।

नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको संरक्षण र संवर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ । चार दशकभन्दा लामो इतिहास बोकेको यस सम्मेलनले साहित्यिक गतिविधिमार्फत सामाजिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, नयाँ पुस्तालाई नेपालभाषामा लेख्न, सिर्जना गर्न र सार्वजनिक रूपमा आफ्नो प्रतिभा प्रस्तुत गर्न प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ ।

सम्मेलनका क्रममा भाषा तथा साहित्यसम्बन्धी विज्ञका मन्तव्य, साहित्यकार तथा कलाकारको सम्मान र समसामयिक सामाजिक विषयमा छलफल हुने कार्यक्रम छ । साहित्यिक गतिविधि र सांस्कृतिक प्रस्तुतिलाई छुट्टाछुट्टै चरणमा सञ्चालन गर्ने परम्पराअनुसार दिउँसो साहित्यिक कार्यक्रम र साँझ सांस्कृतिक कार्यक्रम गरिनेछ ।

प्रत्येक वर्ष भक्तपुरका फरक-फरक वडा तथा टोलमा आयोजना हुँदै आएको तःमुंज्यामा नेपालभाषाका अतिरिक्त अन्य भाषाका साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिलाई समेत स्थान दिइनेछ । प्रतियोगितात्मक साहित्य वाचनमार्फत नयाँ पुस्ताका लेखक, कवि तथा कलाकारलाई प्रोत्साहन गर्ने आयोजकको उद्देश्य छ । सम्मेलनमा साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी, स्थानीय समुदाय तथा भाषा–संस्कृतिप्रेमीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष उकेश कवांले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update