रे समाचार/काठमाडौँ । मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ लेखक वीणा जोशी (राजभण्डारी)लाई प्रदान गर्ने भएको छ । नेवार समुदायको परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)को सङ्कलन तथा अभिलेखीकरणसम्बन्धी कृतिका लागि उहाँलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।
सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको सङ्कलन तथा अभिलेखीकरण गरिएकाले उक्त कृतिलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
मदन पुरस्कार विसं २०१२ मा स्थापित प्रतिष्ठित साहित्यिक पुरस्कार हो । पुरस्कारका लागि विभिन्न विधाका २९८ पुस्तक आवेदनमा परेकामा गुठीले यसअघि १० कृतिको मनोनयन सार्वजनिक गरेको थियो ।
पुरस्कारका लागि अल्पसूचीमा परेका अन्य कृति र लेखकमा अज्ञात (केशवराज ज्ञवाली), इथा (केशव दाहाल), उत्कर्ष (ललित विष्ट), नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको सिमानाको इतिहास (रोशनकुमार झा), परिधि (उमा सुवेदी), महायुग (सीमा आभास), सलह (श्रवण मुकारुङ), स्वस्पर्श (डा नवराज केसी) र हिउँद (नदीशा) रहेका थिए ।
जगदम्बाश्री किरण खरेललाई
छ दशकदेखि गीत लेखनमा समर्पित गीतकार किरण खरेललाई जगदम्बाश्री पुरस्कार प्रदान गरिने भएको छ । उक्त पुरस्कार मदन पुरस्कार गुठीले विसं २०४५ देखि प्रदान गर्दै आएको छ ।
