
काठमाण्डू । चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामाग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग गरेको छ ।
नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य-सचिव टङ्कलाल घिसिङलाई अन्तरराष्ट्रिय खेलकुद परिसरमा गत मंगलबार आयोजित एक कार्यक्रमबीच करिब रु ८५ लाख बराबरका विभिन्न ३४ प्रकारका खेल सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
त्यस अवसरमा राखेप उपाध्यक्ष ध्रुव आचार्यले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिँदै सामग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सदस्य-सचिव घिसिङले नेपाल र चीनबीच धेरै क्षेत्रमा राम्रो सम्बन्ध स्थापित भएको बताउँदै हरेक वर्ष यस्तै सहयोगले प्राप्त हुने प्रतिबद्धता पाएको बताउनुभयो । उहाँ २० औँ एसियाली खेलकुद आउन १३ महिना मात्र बाँकी रहेकाले दृढ सङ्कल्पका साथ प्रशिक्षण अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
डेपुटी चिफ दि मिसन वाङले यस सहयोगले थोरै भए पनि नेपाली खेलकुदको विकासमा टेवा पुग्ने बताउनुभयो । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहताले चीन सरकारले विगतमा पनि सहयोग गर्दै आएको स्मरण गर्नुभयो।