काठमाडौं। दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज शुक्रबार नेपाल आउँदै हुनु हुन्छ ।
सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार लुको भ्रमणको औपचारिक घोषणा गरेको थियो । प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदसँगको शिष्टाचार भेटवार्तामा लुले ५०० मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने तयारी छ । उहाँले अमेरिकी दूतावासका कर्मचारीहरूलाई पनि भेट्नु हुनेछ ।
यसअघि नेपाल सरकारले अमेरिकी कार्यक्रम एसपीपी (स्टेट पार्टनरसिप प्रोग्राम) लाई अघि नबढाउने निर्णय गरेपछि लुले नेपाल भ्रमण गर्नु भएको थियो । एमसीसी सम्झौता नेपालको संसद्बाट अनुमोदन हुनु ४ महिनाअघि पनि लु आउनु भएको थियो । सहायक विदेशमन्त्री लु दक्षिण तथा मध्यएसिया मामिलामा दख्खल राख्ने अमेरिकी कूटनीतिज्ञमा पर्नु हुन्छ । उहाँ २०७८ भदौ ३० गते दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री नियुक्त हुनु भएको थियो ।
