RayNewsDaily
टी-ट्वान्टीमा नामिबियासँग नेपाल पराजित

रे समाचार/काठमाडौं । त्रिदेशिय टी ट्वान्टी क्रिकेट सिरिजमा नामिबियासँग नेपाल पराजित भएको छ । आज कीर्तिपुर मैदानमा सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग २० रनको हार ब्यहोरेको हो । नामिबियाले प्रस्तुत गरेको २ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १ बल बाँकी छदै १ सय ८६ रनमा अलआउट भयो । 

दीपेन्द्र सिंह ऐरीले ४८ रन बनाएको इनिङ्समा कप्तान रोहित पौडेलले ४२ रन जोड्नुभयो । कुशल मल्ल ३२ रनमा र सोमपाल कामी २६ रनमा आउट हुनुभयो । कुशल भुर्तेल भने डकआउट हुनुभयो । नेपालको इनिङ्सका अर्का ओपनर आसिफ शेख ६ रनमा आउट हुनुभयो । गुलसन झा १२, सन्दीप जोरा ५, विवेक यादव ६ र अविनाश बोहोरा शुन्य रनमा पेविलियन फर्किनुभयो भने करन केसी २ रनमा नटआउट रहनुभयो । 

यसअघि, कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ गरेको नामिबियाले ४ विकेटको क्षतीमा २ सय ६ रन बनाएको थियो । जान निकोलको शतकीय ईनिङ्समा नामिबियाले नेपालविरुद्ध उच्च स्कोर खडा गरेको थियो । मालन क्रुगरले अविजित ५९ रनको शानदार इनिङ्स खेल्नुभयो । ओपनर माइकल बेन लिन्गन २० रन बनाएर आउट हुनुभयो । कप्तान रोहित पौडेलले दुई तथा करन केसी र अविनाश बोहराले समान एक एक विकेट लिनुभएको थियो । 

नामिबियाका जान निकोल लफ्टी एटोनले कीर्तिमानी शतक बनाउनुभयो । उहाँले ३३ बलमै शतक बनाउँदै नेपालका कुशल मल्लको रेकर्ड तोड्नुभयो । यसअघि नेपालका कुशल मल्लले मङ्गोलियासँगको खेलमा ३४ बलमा शतक बनाउनु भएको थियो । 
नेपालले सिरिजको दोस्रो खेलमा भोलि बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेल सकिए लगत्तै नेपालले नेदरल्याण्ड्स र नामिबियालाई समावेश गरेर त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो । यस वर्ष टी ट्वान्टी विश्वकप खेल्न लागेको नेपालले प्रतियोगिताको तयारी स्वरुप टी ट्वान्टी सिरिजको आयोजना गरेको हो ।  

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update