RayNewsDaily
अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ, सबै दल एकजुट होऔँ : प्रधानमन्त्री प्रचण्ड 

दमौली(तनहुँ) । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । नेकपा (माओवादी) केन्द्र तनहुँले आज आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले विभिन्नरूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।    
    
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “संविधानविरुद्ध षड्यन्त्र भइरहेको छ । एकथरी तत्व कुनै न कुनैरूपले देशमा अराजकता सिर्जना गर्ने अभियानमा लागिरहेका छन् । प्रतिगमनका निम्ति मलजल गरिरहेका छन् ।”    
    
परिवर्तनको रक्षाका निम्ति र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनमाथि खतरा नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायले पाएका हकअधिकार खोस्ने र जनताका प्रतिनिधिको हातमा आएको सत्ता खोस्ने षड्यन्त्रलाई चिर्दै अगाडि बढ्छौँ ।” सामन्तको हातमा सत्ता लैजाने दुस्साहस गरिएको उहाँको भनाइ थियो ।    
    
पार्टीले जनताका घरघरमा पुग्ने कार्यक्रमसहित रुपान्तरण अभियान अगाडि बढाएको भन्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “गण्डकी प्रदेशमा यो अभियान ठिक ढङ्गले अगाडि बढेको छ । अभियानलाई एक महिना विस्तार गरिएको छ ।”    
    
प्रधानमन्त्री प्रचण्डले पार्टी पुनःनिर्माणको विशेष अभियानमा रहेको बताउँदै देशैभरि जनतासँग माओवादी अभियानले जनतामाझ माओवादी र देशका लागि औपचारिक अभियानमात्र नरहेको र रणनीतिक अभियानको हिस्सा रहेको बताउनुभयो । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update