- इरानका वैध माग पूरा भए दुई दिनभित्र होर्मुज जलमार्ग खोल्न सकिने ।
- अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्न तेहरानको माग ।
- वार्ताका लागि गत सेप्टेम्बरमा प्रस्ताव गरिएको सातदिने योजना कार्यान्वयन गर्नुपर्ने ।
तेहरान । अमेरिकाले इरानका वैध माग पूरा गरेमा दुई दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्न सकिने इरानले जनाएको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।
उहाँले मध्यस्थकर्तामार्फत इरान र अमेरिकाबीच हुने कुनै पनि अप्रत्यक्ष वार्ताको आधार तेहरानले गत सेप्टेम्बरमा प्रस्ताव गरेको सातदिने योजना हुने बताउनुभयो । इरानले सद्भावनाको सङ्केतस्वरूप उक्त योजनाको कार्यान्वयन अवधि घटाएर दुई दिनमा झारेको पनि उहाँले उल्लेख गर्नुभयो ।
“इरानका माग पूरा भएमा स्ट्रेट अफ होर्मुजमा सुरक्षा पुनः कायम गर्न र छोटो समयमै वार्ता प्रक्रिया सुरु गर्न सम्भव हुनेछ,” बाघाईले भन्नुभयो । यसबारे अन्तिम निर्णय अमेरिकी पक्षको हातमा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
बाघाईका अनुसार इरानले आफ्ना माग स्पष्ट, उचित र तार्किक रूपमा प्रस्तुत गरेको छ । अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी अन्त्य गर्नुका साथै तेहरानका वैध माग सम्बोधन नगरेसम्म कुनै सम्झौता नहुने उहाँले बताउनुभयो ।
त्यस्तो अवस्था नभएसम्म होर्मुज जलमार्ग पुनः खोल्न र त्यहाँ सुरक्षा सुनिश्चित गर्न सम्भव नहुने उहाँको भनाइ थियो ।
इरानले युद्ध अन्त्य गर्ने र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने सर्त समेटिएको सातदिने योजना गत सेप्टेम्बर २२ मा न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष प्रस्तुत गरेको थियो । त्यसयता तेहरान र वासिङ्टनबीच उक्त प्रस्तावबारे सन्देश आदानप्रदान भइरहेको बताइएको छ ।
यसै वर्ष फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहित इरानका विभिन्न सहरमा संयुक्त आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो । साथै, इरानले स्ट्रेट अफ होर्मुजमाथि आफ्नो नियन्त्रण थप कडा बनाएको थियो । सिन्ह्वा
