- इरानको सार्वभौमिकता र सुरक्षा रक्षामा चीनको समर्थन ।
- अमेरिकी आक्रमणको जोखिम बढिरहेका बेला चीन-इरान उच्चस्तरीय भेटवार्ता ।
- मध्यपूर्वलाई शक्ति राष्ट्रको प्रतिस्पर्धा र भूराजनीतिक द्वन्द्वको मैदान नबनाउन सीको आग्रह ।
बेइजिङ । चीनले इरानको सार्वभौमिकता र सुरक्षा रक्षाका लागि समर्थन गर्ने जनाएको छ ।
चीनका विदेशमन्त्री वाङ यीले सोमबार बेइजिङमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपमन्त्री अली बाघेरी कानीसँगको भेटमा इरानलाई समर्थन गर्ने बताउनुभएको हो । चिनियाँ विदेश मन्त्रालयले वक्तव्य जारी गरी यसको पुष्टि गरेको छ ।
यो भेट अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्न सक्ने जोखिम बढिरहेका बेला भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार संयुक्त राज्य अमेरिकाले इरानको अधिकांश सैन्य क्षमता नष्ट गरिसकेको तर अझै एक-दुई लक्ष्य बाँकी रहेको बताउनुभएको थियो । तेहरानले भने आक्रमण भए प्रतिशोध लिने चेतावनी दिएको छ ।
“चीनले इरानलाई आफ्नो सार्वभौमिकता र सुरक्षा रक्षा गर्न समर्थन गर्छ,” विदेशमन्त्री वाङले बाघेरी कानीसँगको भेटमा भन्नुभएको चिनियाँ विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।
विदेश मन्त्रालयले यसअघि बाघेरी कानीको बेइजिङ भ्रमणबारे घोषणा गरेको थिएन ।
भेटमा विदेशमन्त्री वाङले सबै पक्षलाई तर्कसङ्गत र व्यावहारिक दृष्टिकोण अपनाउँदै राजनीतिक समाधानमा केन्द्रित हुन आग्रह गर्नुभएको थियो । उहाँले पुनः सशस्त्र द्वन्द्वको बाटोमा नफर्कने प्रतिबद्धता जनाउनुपर्ने बताउनुभएको थियो ।
चीन इरानको प्रमुख आर्थिक साझेदार हो । मध्यपूर्वमा महिनौँदेखि जारी द्वन्द्वको तनाव कम गर्न चीनले प्रयास गर्दै आएको छ । उक्त द्वन्द्व कहिलेकाहीँ छिमेकी देशहरूमा समेत फैलिएको छ ।
यसै महिना चीनले आफ्नो मध्यपूर्व मामिलासम्बन्धी विशेष दूतलाई इरान, ओमान र साउदी अरब पठाउने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा यो भ्रमण शान्ति वार्तालाई प्रोत्साहन र तनाव कम गर्ने उद्देश्यले हुन लागेको महत्वपूर्ण कूटनीतिक पहल भएको बताउनुभएको छ ।
सोमबार नै चिनियाँ राष्ट्रपति सी चिनफिङले ओमानका सुल्तान हैथम बिन तारिकसँग बेइजिङमा वार्ता गर्नुभएको छ । कूटनीतिक सम्बन्ध स्थापना भएयता ओमानका राष्ट्रप्रमुखको यो पहिलो चीन भ्रमण हो ।
राष्ट्रपति सीले ओमानका सुल्तानसँगको भेटमा चीन मध्यपूर्वमा शान्ति, स्थिरता र समृद्धिमा योगदान दिन तयार रहेको बताउनुभएको छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीले मध्यपूर्व ठूला देशहरूबीचको प्रतिस्पर्धा र भूराजनीतिक द्वन्द्वको मैदान बन्न नहुने धारणा व्यक्त गर्नुभएको छ । एएफपी
