RayNewsDaily
अमेरिकासँग अर्को युद्ध झन् लामो र भयानक हुन सक्ने इरानको चेतावनी
  • अमेरिकासँगको सम्भावित नयाँ युद्ध अघिल्लोभन्दा लामो हुन सक्ने इरानी सेनाको चेतावनी ।
  • युद्धको अवधि र परिणाम अमेरिकाले निर्धारण गर्न नसक्ने इरानको दाबी ।
  • आक्रमण भए निर्णायक जवाफ दिने इरानको चेतावनी, युद्धको भौगोलिक सीमा नरहने दाबी ।

तेहरान । अमेरिकासँग कुनै नयाँ युद्ध भए अघिल्लो युद्धभन्दा लामो हुन सक्ने इरानले चेतावनी दिएको छ । सम्भावित युद्धको अवधि र अन्त्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्धारण गर्न नसक्ने इरानको दाबी छ ।

इरानी राष्ट्रिय टेलिभिजनले आइतबार इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियालाई उद्धृत गर्दै सम्भावित भावी युद्ध अघिल्लो द्वन्द्वभन्दा लामो हुन सक्ने जनाएको छ ।

उहाँले फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणबाट सुरु भएको युद्धको सबैभन्दा भयानक चरणको उल्लेख गर्दै आगामी युद्ध अमेरिका वा अन्य कुनै पक्षको सहज नियन्त्रणमा नहुने बताउनुभएको छ ।

अमेरिका र इजरायलको आक्रमणको सुरुआतमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मारिनुभएको थियो । त्यसक्रममा कैयौँ इरानी नेता, सैन्य अधिकारी र वैज्ञानिकको समेत मृत्यु भएको थियो । जवाफमा इरानले खाडी क्षेत्रभर क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो । इरानको समर्थन प्राप्त सशस्त्र समूहले लेबनान र यमनमा पनि युद्धमा सहभागिता जनाएका थिए ।

इरानका रक्षामन्त्री मेहरदाद अखलाखीले आइतबार देशमाथि कुनै पनि आक्रमण भए त्यसको समान, निर्णायक र प्रभावकारी जवाफ दिने चेतावनी दिनुभएको छ ।

“जसले धम्की दिन्छन्, उनीहरूले इरानको रक्षात्मक प्रतिक्रियाको दायरा, समय वा परिणाम निर्धारण गर्न सक्ने छैनन्,” उहाँले भन्नुभयो ।

यसैगरी, इरानको सैन्य शक्ति इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्सका प्रवक्ता होसेन मोहेब्बीले नयाँ सर्वोच्च नेता आयतुल्लाह मोज्ताबा खामेनीको अघिल्लो दिन जारी लिखित सन्देश दोहोर्‍याउनुभएको छ ।

खामेनीले सैन्य कमाण्डरहरूलाई कुनै पनि स्तर वा प्रकारको धम्कीको तत्काल, प्रभावकारी र भौगोलिक सीमाविहीन जवाफ दिन निर्देशन दिनुभएको थियो ।

इरानी राष्ट्रिय टेलिभिजनले मोहेब्बीलाई उद्धृत गर्दै अब अमेरिकासँग हुने द्वन्द्वको भौगोलिक सीमा नरहने र शत्रुलाई क्षति पुर्‍याउन ठूलो युद्धक्षेत्र निर्धारण गरिएको जनाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले इरानको अधिकांश सैन्य क्षमता नष्ट गरिसकेको तर अझै एक-दुई लक्ष्य बाँकी रहेको बताउनुभएको थियो ।

“हामीले उनीहरूको आणविक क्षमता नष्ट गरिसकेका छौँ । अझै एक-दुई ठाउँ बाँकी छन्, तर हामी त्यो १० मिनेटमै गर्न सक्छौँ,” राष्ट्रपति ट्रम्पले भन्नुभएको छ । एएफपी

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update