RayNewsDaily
युरोपभर सडकमा उत्रिए लाखौँ नागरिक, महँगी र आवास संकटविरुद्ध चर्कियो प्रदर्शन
जर्मनीको बर्लिनमा युवाहरूको प्रदर्शन तस्बिर: एपी
  • महँगी, आवास समस्या र सार्वजनिक सेवाको अवस्थालाई लिएर प्रदर्शन ।
  • फ्रान्समा तीन लाख २० हजार सहभागी, ४२२ जना पक्राउ ।
  • जर्मनी, इटाली, पोर्चुगलसहित विभिन्न देशमा विरोध प्रदर्शन ।

म्याड्रिड । जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र राजनीतिक विवादलाई लिएर शनिबार युरोपका विभिन्न प्रमुख सहरमा विरोध प्रदर्शन भएका छन् । सामाजिक सञ्जालमार्फत प्रदर्शनको आह्वान गरिएपछि विभिन्न देशमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

फ्रान्सको गृह मन्त्रालयका अनुसार देशभर भएका प्रदर्शनमा करिब तीन लाख २० हजार मानिस सहभागी भएका थिए । तीमध्ये ७० हजार पेरिसमा थिए । आयोजकहरूले भने देशभर पाँच लाख र राजधानीमा दुई लाख मानिस सहभागी भएको दाबी गरेका छन् । प्रदर्शनलाई ध्यानमा राख्दै ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । अधिकांश प्रदर्शन शान्तिपूर्ण भए पनि केही स्थानमा झडप भएको र ४२२ जना पक्राउ परेको गृहमन्त्री लरेन्ट नुनेजले बताउनुभयो ।

जर्मनीका ३० भन्दा बढी सहरमा सार्वजनिक सेवामा लगानी बढाउन, महँगी नियन्त्रण गर्न र अनिवार्य सैन्य सेवा हटाउन माग गर्दै प्रदर्शन भएको थियो । आयोजकका अनुसार १२ सहरको तथ्याङ्कमा मात्रै ६८ हजारभन्दा बढी सहभागी भएका थिए । फ्र्याङ्कफर्ट, ह्याम्बर्ग र ब्रेमेनमा प्रहरीसँग झडप तथा आगजनीका घटना भएका जर्मन समाचार संस्था डीपीएले जनाएको छ ।

इटालीमा सार्वजनिक सेवा र जीवनयापनको खर्चलाई लिएर शुक्रबार ६० भन्दा बढी सहरमा प्रदर्शन भएको थियो । युनियनले १५ लाख मानिस सहभागी भएको दाबी गरे पनि गृह मन्त्रालयले दुई लाख ५५ हजार सहभागी भएको जनाएको छ । शनिबार पनि रोमस्थित कोलोसियम नजिक प्रदर्शनकारी भेला भएका थिए ।

पोर्चुगलको लिस्बन र पोर्टोमा आवास समस्या समाधानको माग गर्दै एक हजारभन्दा बढीले प्रदर्शन गरेका थिए । यसैगरी, अल्बानियाको राजधानी तिरानामा प्रधानमन्त्री एदी रामाको राजीनामालगायत माग राखेर भइरहेको प्रदर्शन शनिबार १९औँ दिन पनि जारी रह्यो । प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम र ढुङ्गा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो ।

पोल्याण्डको वार्सामा संवैधानिक न्यायाधिकरणको संरचना र नेतृत्वलाई लिएर प्रदर्शन भएको थियो भने नेदरल्याण्ड्सको द हेगमा सामाजिक सञ्जालको आह्वानमा भेला भएको भीडलाई प्रहरीले तितरबितर पारेको थियो । प्रहरीले दिनभर ३४ जनालाई पक्राउ गरेको जनाएको छ ।

स्पेनको म्याड्रिड, बार्सिलोना र भ्यालेन्सियामा पनि सम्भावित अशान्ति रोक्न सुरक्षा व्यवस्था कडा पारिएको थियो । अघिल्लो सप्ताहन्त बार्सिलोनामा भएको झडपमा १५ प्रहरी घाइते भएका र १२८ जना पक्राउ परेका थिए । अनलाइनमार्फत हिंसा भड्काएको आशङ्कामा प्रहरीले देशभर १० जनालाई पक्राउ गरेको स्पेनी समाचार संस्था ईएफईले जनाएको छ । सिन्ह्वा

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update