RayNewsDaily
भुटानमा ४० हजार स्वयंसेवकले एकै दिन बनाए १०८ बौद्ध स्तूप
भुटानको गेलेफु माइन्डफुलनेस सिटीमा एकै दिन निर्माण गरिएका १०८ बौद्ध स्तूप ।
  • १२ किलोमिटर क्षेत्रमा १०८ स्तूप निर्माण, प्रत्येक १५ मिटर अग्ला ।
  • गेलेफु माइन्डफुलनेस सिटीमार्फत अर्थतन्त्र र रोजगारी विस्तार गर्ने लक्ष्य ।
  • परियोजनामा दुई करोड १० लाख अमेरिकी डलर खर्च हुने अनुमान ।

गेलेफु । भुटानमा महत्वाकांक्षी ‘गेलेफु माइन्डफुलनेस सिटी’ निर्माण योजनाअन्तर्गत ४० हजारभन्दा बढी स्वयंसेवकले एकै दिन १०८ वटा बौद्ध स्तूप निर्माण गरेका छन् ।

भारतसँगको सीमा नजिकै नदी किनारको १२ किलोमिटर क्षेत्रमा ती स्तूप निर्माण गरिएका हुन् । प्रत्येक स्तूप १५ मिटर अग्लो छन् । हिमालय क्षेत्रमा पवित्र बौद्ध स्मारकका रूपमा मानिने यी संरचना भविष्यमा निर्माण हुने गेलेफु माइन्डफुलनेस सिटीको क्षेत्रमा अवस्थित छन् ।

अधिकारीहरूका अनुसार स्वयंसेवकले मध्यरातपछि निर्माण कार्य सुरु गरी एकै दिनमा सबै १०८ स्तूप निर्माण गरेका हुन् । उनीहरूले यस कार्यलाई ‘प्रार्थनाको भौतिक रूप’का रूपमा व्याख्या गरेका छन् ।

चीन र भारतको बीचमा रहेको भुटानको जनसङ्ख्या करिब आठ लाख छ । आर्थिक विकाससँगै ‘कुल राष्ट्रिय खुसी’लाई प्राथमिकता दिने नीतिका कारण भुटान परिचित छ ।

नयाँ सहर निर्माणमार्फत अर्थतन्त्रलाई गति दिने, रोजगारीका अवसर सिर्जना गर्ने र युवालाई स्वदेशमै बस्न प्रोत्साहित गर्ने भुटानको लक्ष्य छ । यसका साथै दिगो व्यवसाय, हरित प्रविधि, शिक्षा, पर्यटन तथा वित्तीय सेवाका क्षेत्रमा लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले सन् २०२४ मा शाही आदेशमार्फत यस विशेष क्षेत्रको स्थापना गर्नुभएको थियो । उहाँले यसको उद्देश्य जीवन्त आर्थिक केन्द्र निर्माण गर्नु रहेको बताउनुभएको थियो ।

भुटान अहिले घट्दो जन्मदर र रोजगारी तथा अन्य अवसरको खोजीमा विदेशिने युवाको समस्यासँग जुधिरहेको छ ।

युवालाई रोजगारी पाउन सहयोग गर्ने संस्था ‘अर्गनाइजेसन फर युथ एम्पावरमेन्ट’का प्रमुख ६५ वर्षीय निमा ग्याल्चेनले यस घटनालाई भुटानको इतिहासमा भावी पुस्ताले समेत स्मरण गर्ने बताउनुभयो ।

सन् २०१७ को पछिल्लो जनगणनाअनुसार गेलेफु सहरको जनसङ्ख्या १० हजारभन्दा कम छ ।

आयोजकहरूका अनुसार बौद्ध परम्परामा विशेष महत्त्व राख्ने यी १०८ स्तूपको कुल उचाइ इजिप्टको गिजास्थित ग्रेट पिरामिडको उचाइभन्दा १० गुणा बढी छ । परियोजनाको अनुमानित लागत दुई करोड १० लाख अमेरिकी डलर रहेको छ । यद्यपि, महत्वाकांक्षी योजना साकार पार्न आवश्यक लगानी जुटाउन सक्नेमा विश्लेषकहरूले प्रश्न उठाएका छन् ।

यसैबीच, भारतीय अर्बपति गौतम अदानीको नेतृत्वमा रहेको अदानी समूह गत जनवरीमा गेलेफु माइन्डफुलनेस सिटीको संस्थापक सदस्यका रूपमा जोडिएको थियो ।

यो सहर छिमेकी भारतीय राज्य आसामको रेल सञ्जालसँग जोडिनेछ । साथै, सन् २०२९ मा यहाँ अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

यो परियोजना भुटानको क्रिप्टोकरेन्सीसम्बन्धी महत्वाकांक्षासँग पनि जोडिएको छ । भुटानले आफ्नो अतिरिक्त जलविद्युत् प्रयोग गरी बिटक्वाइन उत्खनन गर्दै आएको छ । साथै, सहरको विकासमा डिजिटल सम्पत्तिको उपयोग गर्ने योजना बनाएको छ ।

आइतबारको समारोहमा सहभागी स्थानीय बासिन्दा ५६ वर्षीया बिष्णु माया मोक्ताङले प्रस्तावित सहरको विकास हेर्न आफू उत्साहित रहेको बताउनुभयो ।

“म यो सहर हेर्न पाउने गरी लामो समयसम्म बाँच्ने आशा गर्छु”, उहाँले एएफपीसँग भन्नुभयो ।

“मेरा आमाबुबा सानै उमेरमा बित्नुभयो । उहाँहरूले यो सहर कहिल्यै देख्न पाउनुभएन । आफूले यो अवसर पाएकोमा म भाग्यशाली महसुस गर्छु ।” एएफपी

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update