- बाढीपहिरोबाट १६६ परिवार प्रभावित, १७ घर पूर्ण क्षति
- ७७ घर उच्च जोखिममा, ७२ घर जोखिममा
- ५७२ रोपनी खेतबारी र २० सडकमा क्षति
म्याग्दी । बाढीपहिरोबाट म्याग्दीको मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले १७ घरमा पूर्ण क्षति पुर्याएको छ भने ७७ घर उच्च जोखिममा र ७२ घर जोखिममा रहेका छन् ।
गाउँपालिकाका अनुसार विपद्बाट ५७२ रोपनी खेतबारीमा क्षति पुगेको छ । यसैगरी, १२ वटा गोठ पूर्ण र १८ वटा आंशिक रूपमा क्षति भएका छन् भने २० वटा सडकमा पनि क्षति पुगेको छ ।
गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार वडा नं ५ को छिसवाङ, वडा नं २ को भाइवाङ र वडा नं ४ को महेशलाई जोखिमयुक्त बस्तीका रूपमा पहिचान गरिएको छ । विपद्बाट प्रभावित परिवारलाई राहत वितरण तथा अस्थायी बसोबासको व्यवस्था गर्नुका साथै क्षतिको विवरण सङ्कलन भइरहेको छ ।
बाढीपहिरोबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पहिरोबाट विस्थापित गाउँपालिका-३ बरञ्जाका गङ्गाप्रसाद पुर्जा र कृष्णलाल सापकोटाले बस्ती संरक्षण र पहिरो नियन्त्रणका लागि स्थानीय तह सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ । त्यसो नगरिए आगामी वर्षायाममा अझ बढी क्षति हुनसक्ने उहाँहरूको भनाइ छ ।
छिसवाङ, सहस्रधारा, तोराखेत र सेराफाँट क्षेत्रमा म्याग्दी नदीको कटानले बस्ती जोखिममा पारेको छ । सिँचाइ तथा खानेपानी आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाले जनाएको छ । रासस
