- माथिल्लो मनाङमा भारी हिमपातपछि पदयात्रा प्रभावित ।
- करिब २०० पर्यटक मनाङ गाउँमै रोकिए ।
- मौसम सुधार भए पनि पदमार्ग हिउँले ढाकिएकाले जोखिम कायमै ।
मनाङ । बङ्गालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावले हिमाली क्षेत्रमा हिमपात भएपछि माथिल्लो मनाङका पर्यटकीय गन्तव्यमा जाने पर्यटक मनाङमै रोकिएका छन् ।
माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएपछि पदयात्रामा नजान सूचना जारी गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । हिमपातका कारण पर्यटकसँगै स्थानीयको जनजीवनसमेत कष्टकर बनेको उहाँले बताउनुभयो ।
माथिल्लो मनाङमा बाक्लो हिउँ परेपछि भ्रमणमा आएका पर्यटक मनाङ गाउँमै रोकिएको प्रमुख भुजेलले बताउनुभयो । उहाँका अनुसार अहिले करिब २०० पर्यटक मनाङ गाउँमा बसिरहेका छन् ।
“हिउँ बाक्लो परेकाले मौसममा सुधार हुँदै गए पनि हिँड्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “जोखिम मोलेर केही पर्यटक भने यात्रा निस्कन खोजिरहेका छन् ।”
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी प्रणालीको पूर्वानुमानअनुसार चक्रवातबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै पर्यटकलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिनुभयो ।
“मौसममा केही सुधार आएको छ । तर, पर्यटक तथा स्थानीयलाई आवतजावत गर्न र गन्तव्यमा जान दिने अवस्था भने बनिसकेको छैन”, उहाँले भन्नुभयो, “हिउँ बाक्लो छ । पदयात्रामा जाने पदमार्गका सबै नक्सा नै छोपिएकाले जोखिम कायमै छ ।”
प्रमुख जिल्ला अधिकारी खनालले सुरक्षित स्थानमा बस्न र जोखिम मोलेर यात्रा नगर्न होटल व्यवसायीलाई समेत जानकारी गराइएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार साँझदेखि हल्का हिमपात सुरु भएको थियो भने शुक्रबार र शनिबार बिहानसम्म भारी हिमपात भएको थियो । रासस
