- हिमपातमा फसेका सागर कार्कीको हेलिकप्टरबाट उद्धार ।
- सम्पर्कविहीन मनिष बोहराको खोजीमा सेना परिचालन ।
- उद्धार गरिएका कार्कीको स्वास्थ्य अवस्था सामान्य ।
बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ का २१ वर्षीय सागर कार्कीको उद्धार गरिएको हो ।
चार हजार २०० मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बस्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका कार्कीको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडी पुर्याइएको बताउनुभयो । उहाँका अनुसार कार्कीको स्वास्थ्य अवस्था सामान्य छ ।
बडीमालिका क्षेत्रमा सम्पर्कविहीन कञ्चनपुरको बेदकोट नगरपालिका-दैजीका २० वर्षीय मनिष बोहराको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यक जनशक्तिसहित सदरमुकामस्थित नेपाली सेनाको ईश्वरीबक्स गुल्मबाट हेलिकप्टर खोजीका लागि बडीमालिका क्षेत्रमा गएको छ ।
गत असोज ९ गते सदरमुकाम मार्तडीबाट सम्पर्कविहीन भएका दुई जनासहित पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो । उक्त टोलीका पूर्वका तीन जना भने बडीमालिकाबाट फर्किएर मार्तडी पुगिसकेका छन् । रासस
