- नेपाल भ्रमणमा रहेको १५ सदस्यीय चिनियाँ टोली सम्मानित ।
- नेपाल-चीन साहित्य तथा संस्कृतिमा सहकार्य बढाउने अपेक्षा ।
- चिनियाँ टोलीद्वारा पाटन दरबार स्क्वायरसहित ऐतिहासिक स्थलको भ्रमण ।
काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक तथा सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य सम्मानित भएका छन् । देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठान र एसएस फाउण्डेसनद्वारा आयोजित सांस्कृतिक कार्यक्रममा चिनियाँ प्रतिनिधिमण्डललाई सम्मान गरिएको हो ।
फाउण्डेसनका संरक्षक एवं गीतकार शोभित उप्रेती, अध्यक्ष तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष मातृका पोखरेललगायतले चिनियाँ टोलीका सदस्यलाई सम्मान गर्नुभएको हो ।
जनवादी गणतन्त्र चीनको साहित्यिक तथा सांस्कृतिक टोलीको नेतृत्व लु सुन कल्चरल फाउण्डेसनका अध्यक्ष एवं विश्वप्रसिद्ध साहित्यकार लु सुनका नाति झाउ लिङफेईले गर्नुभएको छ ।
कार्यक्रममा फाउण्डेसनका संरक्षक उप्रेतीले चिनियाँ सांस्कृतिक तथा साहित्यिक टोलीको नेपाल भ्रमणले यस क्षेत्रमा दुई देशबीचको सहकार्य विस्तार हुने बताउनुभयो ।
प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष पोखरेलले मित्रराष्ट्र चीनको सांस्कृतिक तथा साहित्यिक टोलीको भ्रमणले एकअर्काको संस्कृति, साहित्य र सभ्यताको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
फाउण्डेसनका अध्यक्ष श्रेष्ठले नेपालको कला र संस्कृति विशिष्ट रहेको उल्लेख गर्दै यस क्षेत्रमा आपसी सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली पहिचान झल्काउने कौडा, हुड्क्यौली र नेवारी नृत्य प्रस्तुत गरिएको थियो ।
पन्ध्र सदस्यीय चिनियाँ साहित्यिक तथा सांस्कृतिक टोलीले पाटन दरबार स्क्वायरलगायत काठमाडौँ उपत्यकाका ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थलको भ्रमणसमेत गरेको छ । टोलीलाई शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानले पनि स्वागत गरेको थियो । रासस
