- समर्थन मूल्यभन्दा ५०० देखि ६०० रुपैयाँसम्म सस्तोमा धान बिक्री ।
- भण्डारणको अभाव र चाडपर्वको खर्च जुटाउन किसानलाई सकस ।
- खरिद कोटा नतोकिँदा सरकारी मूल्यमा धान बेच्न नपाएका किसान वर्षाले झन् चिन्तित ।
दाङ । धान काटेर भण्डारण गर्ने उपयुक्त ठाउँको अभाव र तिहारको खर्च जुटाउनुपर्ने बाध्यताका कारण दाङका किसानले सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा सस्तोमा धान बिक्री गरिरहेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको मूल्य तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ । तर, व्यापारीले सरकारले तोकेको मूल्यभन्दा ५०० देखि ६०० रुपैयाँसम्म कम मूल्यमा धान खरिद गरिरहेको दङ्गीशरण गाउँपालिका-३ रावत गाउँकी किसान माइली चौधरीले बताउनुभयो ।
उहाँका अनुसार यस वर्ष धान उत्पादन राम्रो भए पनि सरकारी निकायले समयमै खरिद नगर्दा किसान सस्तोमा बेच्न बाध्य भएका छन् । घरमा भण्डारण गर्ने ठाउँ नहुँदा र तिहारको खर्च जुटाउनुपर्ने भएकाले गाउँका व्यापारीलाई प्रतिक्विन्टल तीन हजार रुपैयाँमा धान बिक्री गरिरहेको उहाँले बताउनुभयो ।
“यस वर्ष धान प्रशस्त फलेको छ । खाद्यले उत्पादित धान कहिल्यै खरिद गर्दैन, घरमा भण्डारण गर्ने ठाउँ पनि छैन । तिहारको खर्च जुटाउन पनि गाह्रो भएकाले गाउँका व्यापारीलाई प्रतिक्विन्टल तीन हजार रुपैयाँका दरले बिक्री गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
सरकारले प्रत्येक वर्ष महँगो मूल्यमा धान खरिद गर्ने गरेको सुने पनि आफूहरूले अहिलेसम्म उक्त मूल्यमा धान बिक्री गर्न नपाएको चौधरीले बताउनुभयो ।
स्थानीय सरकारले चासो नदिँदा किसान व्यापारीलाई सस्तो मूल्यमा धान बेच्न बाध्य भएको सोही गाउँका नवीन अधिकारीले बताउनुभयो । उहाँका अनुसार अर्नब चक्रवातको प्रभाव र वर्षाको जोखिमका कारण गाउँका धेरै किसानले बिहीबार रातभर थ्रेसर प्रयोग गरेर धान तयार पारेका थिए ।
“वर्षाभरको मिहिनेतलाई किसानले घाटा खाएर बेच्न बाध्य भएका छौँ । बिहीबार रातभरि थ्रेसर उपकरणको प्रयोग गरी धान तयार गरेर खेतबाटै प्रतिक्विन्टल तीन हजार १०० रुपैयाँका दरले स्थानीय व्यापारीलाई बिक्री गरिरहेका छन्”, उहाँले भन्नुभयो ।
अधिकारीका अनुसार अधिकांश मध्यम तथा निम्न आय भएका किसानले भर्खरै भित्र्याएको धान बिक्री गरेर चाडपर्व मनाउने खर्च जुटाइरहेका छन् । सरकारले धानको समर्थन मूल्य तोके पनि व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्दा किसान मर्कामा परेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार दाङको देउखुरी क्षेत्रमा अधिकांश किसानले दसैँअघि नै धान भित्र्याइसकेका छन् । दाङ उपत्यकाका केही किसानले अहिले धान भित्र्याइरहेका छन् भने केहीले काटेर खेतमै राखेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका निमित्त प्रमुख शक्तिराम डाँगीले केन्द्रबाट धानको मूल्य निर्धारण भए पनि खरिद कोटा भने अहिलेसम्म नतोकिएको बताउनुभयो । कोटा निर्धारण गरिएको पत्र प्राप्त हुनासाथ धान खरिद सुरु गरिने उहाँले जानकारी दिनुभयो ।
गत वर्ष देउखुरी क्षेत्रका तीन स्थानीय तहको समन्वयमा धान खरिद गरिएको डाँगीले बताउनुभयो । खरिद कोटा थोरै निर्धारण हुँदा जिल्लाका सबै पालिकामा पुगेर धान खरिद गर्न नसकिने उहाँको भनाइ छ ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार दाङमा कुल ७४ हजार ३३६ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३७ हजार २२५ हेक्टर क्षेत्रमा धानखेती गरिएको छ ।
यसैबीच, बङ्गालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावले जिल्लाको मौसम प्रतिकूल बनेपछि खेतमा काटेर राखेको धान नोक्सान हुने चिन्ताले किसानलाई सताएको छ । केही दिनदेखि किसानले धान काटेर सुरक्षित ठाउँमा राख्ने प्रयास गरिरहेका भए पनि सबै ठाउँमा धान भित्र्याउने काम सम्पन्न भएको छैन । जिल्लामा शुक्रबार बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ । रासस
