RayNewsDaily
विमानस्थलबाट वार्षिक १३ लाखभन्दा बढी यात्रुलाई यातायात सेवा
  • विमानस्थलबाट वार्षिक १३ लाखभन्दा बढी यात्रुलाई सेवा ।
  • २०८ पर्यटकीय सवारीसाधनबाट दिवा तथा रात्रिकालीन सेवा ।
  • ४५० भन्दा बढी चालक तथा कर्मचारीलाई रोजगारी ।

काठमाडौँ । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३ लाखभन्दा बढी आन्तरिक तथा विदेशी पर्यटक र हवाई यात्रुलाई यातायात सेवा प्रदान गर्दै आएको जनाएको छ ।

लिमिटेडले नेपाल भ्रमणमा आउने विदेशी तथा आन्तरिक पर्यटक र हवाई यात्रुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उनीहरूको प्रारम्भिक गन्तव्यसम्म यातायात सेवा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीका अध्यक्ष पुरुषोत्तम सिम्खडाले आन्तरिक तथा विदेशी पर्यटक र हवाई यात्रुलाई लक्षित गरी सहज र सुरक्षित रूपमा दिवा तथा रात्रिकालीन यातायात सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कम्पनीले दैनिक झन्डै चार हजारभन्दा बढी यात्रुलाई सेवा दिँदै आएको छ । हाल कम्पनीले २०८ पर्यटकीय सवारीसाधनमार्फत यातायात सेवा प्रदान गरिरहेको छ ।

नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा पर्यटक यातायात सेवाको महत्त्वपूर्ण योगदान रहेको अध्यक्ष सिम्खडाले बताउनुभयो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिने पर्यटकलाई व्यवस्थित यातायात सेवा उपलब्ध गराउँदा उनीहरूको नेपाल बसाइ थप सहज र सुखद बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

पर्यटकको बढ्दो आवागमनसँगै यातायात सेवालाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन कम्पनीले निरन्तर काम गर्दै आएको उहाँले बताउनुभयो ।

पछिल्लो समय निजी नम्बर प्लेटका सवारीसाधनले गैरकानुनी रूपमा भाडामा यात्रु बोक्दा व्यवसायी थप समस्यामा परेको पनि अध्यक्ष सिम्खडाले बताउनुभयो ।

विसं २०६७ मा स्थापना भएको उक्त कम्पनीले हाल ४५० भन्दा बढी स्वरोजगार चालक तथा कर्मचारीलाई रोजगारी प्रदान गर्दै आएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update