- अर्को निर्णय नभएसम्म एन प्याब्सनका गतिविधि निलम्बन ।
- मन्त्रालयको निर्देशन पटकपटक पालना नगरेको आरोप ।
- सङ्गठनमा सुवास न्यौपाने र गीता राणा क्षेत्रीका समानान्तर कार्यसमिति ।
काठमाडौँ । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) का गतिविधि अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ ।
गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम संस्थाका गतिविधि निलम्बन गरिएको जनाएको हो ।
मन्त्रालयका अनुसार राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर सञ्चालनमा रहेको एन प्याब्सनले ऐनको दफा ५ बमोजिम मन्त्रालयबाट जारी निर्देशन पटकपटक पालना नगरेको पाइएको छ । संस्थाका पदाधिकारीले स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीतका कार्य गरेको पनि मन्त्रालयले जनाएको छ ।
यस विषयमा मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवाला पक्षसँग छलफल गरी ऐन तथा मन्त्रालयबाट २०८२ मङ्सिर १२ गते जारी निर्देशनबमोजिम काम गर्न आग्रह गरेको थियो ।
तर, मन्त्रालयको आग्रहअनुसार कार्य गरेको नदेखिएकाले ऐनको दफा ५ बमोजिम जारी निर्देशन पालना नगरेको भन्दै दफा ६ को उपदफा (२) अनुसार अर्को निर्णय नभएसम्मका लागि संस्थाका गतिविधि निलम्बन गरिएको सूचनामा उल्लेख छ ।
मन्त्रालयले सूचना जारी भएपछि उक्त संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट हुने गतिविधि गैरकानुनी हुने र प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि स्पष्ट पारेको छ ।
एन प्याब्सनमा विवाद उत्पन्न भएपछि सुवास न्यौपाने र गीता राणा क्षेत्रीको नेतृत्वमा समानान्तर कार्यसमिति सञ्चालन हुँदै आएका थिए । रासस
