- नेपाल र बङ्गलादेशलाई थप तीन वर्ष तयारी अवधि ।
- सन् २०२९ नोभेम्बर २४ सम्म अवधि थप्ने प्रस्ताव सर्वसम्मतिले पारित ।
- संरचनात्मक सुधार र आर्थिक रूपान्तरणका लागि थप समय उपलब्ध ।
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाल र बङ्गलादेशलाई अतिकम विकसित मुलुक (एलडिसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको बिहीबार बसेको ८१औँ महासभा बैठकले उक्त निर्णय गरेको हो । संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपाली स्थायी नियोगका अनुसार यस निर्णयसँगै नेपालले अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई प्रभावकारी रूपमा अघि बढाउन थप समय प्राप्त गरेको छ ।
नेपालले प्राप्त अतिरिक्त समयलाई उत्पादन क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा आर्थिक र सामाजिक रूपान्तरणका लागि उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
महासभाबाट प्राप्त थप समयले नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट सहज, दिगो र अपरिवर्तनीय रूपमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । रासस
