RayNewsDaily
चक्रवाती आँधीको प्रभावले भारी वर्षा, श्रीलङ्काका सबै विद्यालय बन्द
  • अर्नब’ आँधीको अप्रत्यक्ष प्रभावले श्रीलङ्कामा भारी वर्षा
  • विद्यार्थी र कर्मचारीको सुरक्षाका लागि देशभरका विद्यालय बन्द
  • बाढी र पहिरोको जोखिम बढेपछि विभिन्न क्षेत्रमा सतर्कता अपनाउन चेतावनी

कोलम्बो । बङ्गालको खाडीमा आएको चक्रवाती आँधी ‘अर्नब’ को अप्रत्यक्ष प्रभावले भारी वर्षा भएपछि श्रीलङ्का सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा मन्त्रालयले मङ्गलबार मौसमको अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी तथा विद्यालयका कर्मचारीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गरिएको जनाएको छ ।

यद्यपि, सामान्य शिक्षा प्रमाणपत्र (साधारण स्तर) परीक्षाअन्तर्गतका सौन्दर्यसम्बन्धी विषयको व्यावहारिक परीक्षा भने पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

आँधीको अप्रत्यक्ष प्रभावका कारण पछिल्ला दिनमा श्रीलङ्काका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि देशका धेरै क्षेत्रमा सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ । सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update