- दसैँपछि दुई दिनमा सात हजार ८४६ पर्यटक मुस्ताङ पुगे
- बेनी-जोमसोम सडक अवरुद्ध हुँदा सुस्ताएको पर्यटनमा चहलपहल
- दसैँ-तिहार र छठसम्म पर्यटक बढ्ने व्यवसायीको अपेक्षा
मुस्ताङ । दसैँदेखि हिमाली जिल्ला मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । दसैँअघि सुनसान जस्तै बनेको मुस्ताङमा बिहीबारदेखि पर्यटकको आगमन बढेको हो ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी, पहिरो तथा नदी कटानले बेनी-जोमसोम सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटक आगमन घटेको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दसैँपछि बेनी-जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आउने पर्यटकको सङ्ख्या बढेको छ ।
यस वर्ष घटस्थापनादेखि विजया दशमीसम्म बेनी-जोमसोम सडकमार्ग हुँदै पाँच हजार ६६३ पर्यटक मुस्ताङ भित्रिएका थिए । तीमध्ये तीन हजार ७३८ पुरुष र एक हजार ९२५ महिला थिए । प्रहरी निरीक्षक महतका अनुसार उक्त १० दिनमा चार हजार ४०९ विदेशी पर्यटक मुस्ताङ पुगेका थिए । यो कुल पर्यटक सङ्ख्याको ७७ दशमलव ८५ प्रतिशत हो ।
प्राकृतिक विपद्का कारण बेनी-जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको पर्यटन क्षेत्र पूर्ण रूपमा प्रभावित बनेको थियो । तर, दसैँपछि पर्यटक आगमन बढिरहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।
प्रहरी निरीक्षक महतका अनुसार दसैँको टीकापछि बिहीबार र शुक्रबार गरी दुई दिनमा सात हजार ८४६ पर्यटक मुस्ताङ पुगेका छन् । टीकापछिको पहिलो दिन बिहीबार तीन हजार ३३ र दोस्रो दिन शुक्रबार चार हजार ८१३ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । दसैँपछि मुस्ताङ भ्रमण गर्ने पर्यटकको दैनिक सङ्ख्या क्रमशः बढ्दै गएको उहाँले बताउनुभयो ।
चालु वर्षको साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८ र असोजमा १८ हजार ६०१ पर्यटक मुस्ताङ पुगेका छन् ।
दसैँ-तिहारको बिदामा मुस्ताङको पर्यटन व्यवसाय चलायमान हुने अपेक्षा गरिएको छ । दसैँ बिदामा विदेशबाट स्वदेश फर्किएका नेपाली तथा निजामती कर्मचारी, बैंक र वित्तीय संस्थालगायत क्षेत्रमा कार्यरत व्यक्ति बिदाको अवसर पारेर देशका विभिन्न भागबाट मुस्ताङ भ्रमणमा आउने गर्छन् । यसपटक पनि दसैँ-तिहार र छठ पर्वसम्म स्वदेशी तथा विदेशी पर्यटकको उपस्थिति बढ्नेमा पर्यटन व्यवसायी विश्वस्त छन् ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा मुक्तिनाथ मन्दिर, कोरला नाका, झोङ गुफा, लोमान्थाङ दरबार, घर गुम्बा, चोङ्सी गुफा, ढुम्बा ताल र टिटी ताललगायत दर्जनौँ पर्यटकीय गन्तव्य छन् । यी गन्तव्यमा पर्यटकको आकर्षण बढ्दो छ ।
यहाँका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, जैविक विविधता, हिमाली भू-दृश्य र प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । भोटेकोशी बाढी र बेनी-जोमसोम सडक अवरुद्ध हुँदा सुस्ताएको मुस्ताङको पर्यटन क्षेत्र पुनः चलायमान हुने अपेक्षा गरिएको छ । रासस
