RayNewsDaily
गुल्मी दुर्घटनामा चार व्यवसायीको मृत्यु, शोकमा डुब्यो स्याङ्जाको वालिङ
  • निर्माण व्यवसायी दिलीपकुमार बगालेसहित चार व्यवसायीको दुर्घटनामा मृत्यु ।
  • मृतक छ जनामध्ये चार जना वालिङ-१० मा व्यवसाय गर्दै आएका थिए ।
  • स्कार्पियो सडकबाट २५० मिटर तल खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु, तीन घाइतेको उपचार हुँदै ।

वालिङ (स्याङ्जा)। गुल्मीमा सोमबार भएको सवारी दुर्घटनामा वालिङका चार व्यवसायीको मृत्यु भएपछि स्याङ्जाको वालिङ शोकमा डुबेको छ ।

दुर्घटनामा वालिङ नगरपालिका-१० का निर्माण व्यवसायी दिलीपकुमार बगाले, उहाँकी धर्मपत्नी निता बगाले तथा होटल व्यवसायी शिव पराजुली र लोकनाथ पाण्डेको मृत्यु भएको हो । जिल्लाकै सफल निर्माण व्यवसायी, होटल व्यवसायी तथा सामाजिक अगुवाहरू गुमाउँदा वालिङवासी शोकमा परेका छन् ।

एउटै ठाउँका व्यवसायीलाई अकस्मात् गुमाउनुपर्दा निकै पीडाबोध भएको वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैह्रेले बताउनुभयो । दुर्घटनामा मृत्यु भएका छ जनामध्ये चार जना वालिङ-१० मा बसेर व्यवसाय गर्दै आएका थिए । उनीहरूको निधनले आफन्त र स्थानीयवासीलाई चिन्तित बनाएको छ ।

गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दभौखानीमा सोमबार गण्डकी बिएए ०२२० नम्बरको स्कार्पियो सडकबाट करिब २५० मिटर तल खसेको थियो । दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि मिर्मीस्थित कालीगण्डकी आधारभूत अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका तीन जनाको पाल्पा र पोखराका अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update