RayNewsDaily
सप्तकोशीमा मोटर बोट दुर्घटना, तीन जनाको मृत्यु, पाँचजना बेपत्ता

विराटनगर । धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा मोटर बोट दुर्घटनामा परेको हो । सो घटनामा तीन जना बेपत्ता भएका छन् । उक्त मोटर बोटमा १६ जना सवार रहेको अनुमान गरिएको छ ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनीबाट पाँच गोताखोरसहित नौ जना, सुरक्षा वेश रामपुरबाट छ जना र विपद् व्यवस्थापन वेश चतराबाट नौ जनाको टोली खटिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा झापाको कनकाई नगरपालिका-४ की निता मगरका ७ वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका-१ की २१ वर्षीया प्रमिला मगर र सोही ठाउँकी २२ वर्षीया मनु राई बेपत्ता भएका छन् ।

प्रारम्भिक विवरणअनुसार पानीबोटको ब्रेक फेल हुँदा दुर्घटना भएको हो । धनकुटाका प्रहरी उपरीक्षक नारायण रन्जितकारका अनुसार दुर्घटनापछि प्रहरीले चालकसहित १२ जनाको उद्धार गरी उपचारका लागि चतरा अस्पताल पठाएको थियो । उपचारका क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की ५२ वर्षीया लीला राईसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा करिब ६ वर्षीया बालिका र ४० वर्षीय १ पुरुष पनि छन् । उनीहरूको पहिचान खुल्न सकेको छैन ।

तिब्र वहावका कारण सप्तकोशीमा दुर्घटनाको सम्भावना अधिक रहन सक्ने विज्ञहरुले बताएका छन् । दक्ष चालक र सुरक्षाको पूर्ण व्यवस्था गरेपछि मात्र डुंगा सञ्चालनको अनुमति दिनुपर्ने स्थानीयवासीको माग रहेको छ । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  १८:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update