RayNewsDaily
गणतन्त्रका उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छ : मुख्यमन्त्री शाही
  • कर्णालीका गाउँगाउँमा सडक, विद्युत् र सञ्चार सेवाको पहुँच विस्तार
  • विगतमा चामल र नुन ल्याउन कठिन, अहिले गाउँमा सडक र बिजुली
  • भौतिक विकाससँगै सामाजिक सम्मान र अधिकारमा पनि सुधार

हुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीय गणतन्त्रपछि कर्णालीका गाउँगाउँमा सडक, विद्युत् र सञ्चार सेवाको पहुँच विस्तार भएको बताउनुभएको छ ।

अदानचुली गाउँपालिका-३ श्रीनगरस्थित आफूले २०४१ सालमा अध्ययन गरेको सूर्योदय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा उहाँले विगतमा चामल र नुन ल्याउनसमेत कठिन हुने कर्णालीमा अहिले सडक सञ्जाल विस्तार हुनु, गाउँमा बिजुली पुग्नु र नागरिकका हातहातमा मोबाइल हुनु परिवर्तनका महत्त्वपूर्ण उदाहरण भएको बताउनुभयो ।

कर्णालीवासीले विगतमा भोग्नुपरेका दुःखपूर्ण दिन स्मरण गर्दै मुख्यमन्त्री शाहीले विगतको अवस्थालाई अहिलेको परिवेशसँग तुलना गरी सङ्घीय गणतन्त्रपछि प्राप्त उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

विगत सम्झँदै उहाँले भन्नुभयो, “२०४१ सालमा यही विद्यालयमा पढ्दा चामल ल्याउन बाजुराको कोल्टी र मार्तडी जानुपर्थ्यो, बाटोमा भारी बोकेर जान्थ्यौँ र उताबाट चामल ल्याउँदा पनि आफैँ भारी बोकेर आउनुपर्थ्यो ।”

विद्यार्थी जीवनमा मट्टीतेलको अभाव हुँदा झरो बालेर पढ्नुपरेको स्मरण गर्दै उहाँले अहिले गाउँगाउँमा सडक र विद्युत् पुगेको तथा सञ्चार सेवाको पहुँच विस्तार भएको परिवर्तनलाई सबैले मनन गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री शाहीले भौतिक विकाससँगै सामाजिक क्षेत्रमा पनि परिवर्तन आएको उल्लेख गर्नुभयो । सामाजिक सम्मान र अधिकारका क्षेत्रमा उल्लेखनीय सुधार भएको बताउँदै उहाँले भन्नुभयो, “समाजका सबै जातजाति र समुदायले अहिले सम्मानपूर्वक बाँच्न पाएका छौँ ।” रासस

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update