- मध्यपुरथिमिको बालकुमारीमा परम्परागत जात्रा सम्पन्न ।
- कुभिण्डो काटेपछि टुक्रा लैजान भक्तजनको भीड ।
- कुभिण्डोको टुक्रा घरमा राख्दा सुखशान्ति हुने जनविश्वास ।
भक्तपुर । मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध खाँः अर्थात् कुभिण्डो जात्रा आज सम्पन्न भएको छ । नेवार भाषामा खाँः भनेर चिनिने यो जात्रा घटस्थापनाका दिन थिमिको लायकू दरबारस्थित तलेजू मन्दिरमा जमरा राखेर सुरु भएको थियो ।
कुभिण्डो जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजूस्थित दसैँघरमा भित्र्याउने र नवमीका दिन राँगो तथा बोकाको टाउको बलि दिने परम्परा छ ।
नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीका दिनदेखि पूजा गरिएको कुभिण्डोलाई बाजागाजासहित विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरवको परिक्रमा गराएर बालकुमारी ल्याइएको पमा नाइके श्यामकाजी पमा श्रेष्ठले बताउनुभयो ।
एकादशीका दिन आज तीन जना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुकुण्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके तथा राजोपाध्यायसहितको सहभागितामा जात्रा मनाइएको उहाँले बताउनुभयो ।
बाजागाजासहित लायकू दरबारबाट ल्याइएको कुभिण्डोलाई बालकुमारी अगाडि कर्माचार्यले पूजा गर्नुभएको थियो । त्यसपछि थकाली पमा नाइके श्रेष्ठले कुभिण्डो काट्नुभएको थियो । कुभिण्डो काट्नेबित्तिकै त्यसको टुक्रा खोसेर लैजान मानिसहरूको भीड लागेको थियो ।
कुभिण्डोको टुक्रा टिपेर घरमा लैजान सके सुखशान्ति प्राप्त हुने र त्यसलाई औषधिका रूपमा समेत प्रयोग गर्न सकिने जनविश्वास रहिआएको छ ।रासस
