RayNewsDaily
बडादसैँको टीका आज पनि जारी, आफन्त र मान्यजनकहाँ जानेको चहलपहल
  • एकादशीका दिन पनि टीका र जमरा लगाउने क्रम जारी ।
  • हिजो टीका लगाउन नभ्याएकाहरू आफन्तकहाँ पुग्दै ।
  • कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा ।

काठमाडौँ । बडादसैँको टीका आज एकादशीका दिन पनि लगाइँदैछ । विजयादशमीको मुख्य दिन टीका लगाउन नभ्याएकाहरूले आज आफन्त तथा मान्यजनकहाँ पुगेर टीका र जमरा लगाई दसैँ मनाइरहेका छन् ।

नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर आशीर्वाद लिने क्रम आज पनि जारी छ ।

बुधबार बडादसैँको मुख्य दिन विजयादशमी थियो भने आज एकादशी हो । हिजो टीका थाप्न नभ्याएकाहरू आज आफन्त तथा मान्यजनकहाँ पुगेर विजयादशमीको टीका थापिरहेका छन् ।

हिजो घरमै टीका लगाएका कतिपय सर्वसाधारण आज काठमाडौँबाहिर रहेका आफन्त तथा मान्यजनकहाँ गइरहेका छन् । काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेकाले कतिपय नागरिक टीका थाप्न बाहिरिएका छन् । त्यस्तै, बाहिरबाट पनि मानिसहरू काठमाडौँ आइरहेका छन् ।

बडादसैँको टीकाको मुख्य दिन विजयादशमी भए पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने प्रचलन छ । त्यसैले आज पनि टीका लगाउने, लगाइदिने तथा आशीर्वाद लिने-दिने क्रम जारी रहँदा काठमाडौँमा चहलपहल केही बढेको देखिएको छ । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक ५, २०८३  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update