- नेप्से परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा ।
- कारोबार रकम घटेर ४ अर्ब १३ करोडमा सीमित ।
- १३ वटै उपसमूहको परिसूचक बढ्यो, एसबिएल डिबेञ्चरको मूल्य सर्वाधिक वृद्धि ।
रे समाचार/काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचकमा आज पनि वृद्धि भएको छ । पछिल्ला चार कारोबार दिनदेखि बढिरहेको बजारले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । नेप्से परिसूचक आज २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ४ अर्ब ७३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज एसबिएल डिबेञ्चरको मूल्य सर्वाधिक १३.२१ प्रतिशतले बढेको छ । नेपाल एसबिआई बैंक डिबेञ्चरको मूल्य पनि ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अन्य स्टकको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ । सगरमाथा जलविद्युत् कम्पनीको शेयरमूल्य सर्वाधिक ६.३२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको २६ करोड ४६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । घलेम्दी हाइड्रोको कारोबार रकम साढे २१ करोड रुपैयाँ नाघेको छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकको करिब १३ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ ।
आज नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ ।
