- पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिए ।
- च्याङ्ग्रा प्रतिकेजी १ हजार २५० रुपैयाँसम्म ।
- भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण र अनुगमन सुरु ।
कृष्ण दवाडी/कास्की । बडादसैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन् । हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङ्ग्रा ल्याएका हुन् ।
पोखरा महानगरपालिका-१ सिमपानी र वडा नं. २५ हेमजामा भेडाच्याङ्ग्राको हाटबजार सञ्चालनमा छ ।
पोखरा महानगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई हजार, बझाङबाट एक हजार ८०० तथा बाजुरा र डोल्पाबाट एक/एक हजार भेडाच्याङ्ग्रा पोखरा ल्याइसकिएको छ ।
अझै केही भेडाच्याङ्ग्रा बाटोमै रहेकाले फूलपातीभन्दा एक-दुई दिन अगाडिसम्म बजारमा आइपुग्ने उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेशका अन्य जिल्लाबाट समेत स्थानीय भेडा बिक्रीका लागि पोखरा ल्याउने गरिन्छ ।
“दसैँका लागि पोखरामा भेडाच्याङ्ग्रा आइसकेका छन् । कतिपय व्यापारीले हाटबजारमा ल्याइसकेका छन् भने धेरैले पोखरावरपरका चरन क्षेत्रमा राखेका छन् । ती भेडाच्याङ्ग्रा एक-दुई दिनमा हाटबजारमा ल्याउने जानकारी पाएका छौँ,” उहाँले भन्नुभयो ।
यसैबीच, पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्की र पशु क्वारेन्टाइन कार्यालय पोखराको संयुक्त टोलीले भेडाच्याङ्ग्राको स्वास्थ्य अवस्था तथा बिक्री वितरणको अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा अधिकांश भेडाच्याङ्ग्रा स्वस्थ पाइएको टोलीले जनाएको छ । फूलपातीका दिनसम्म निरन्तर अनुगमन गरिने जनाइएको छ ।
व्यापारीले भेडाच्याङ्ग्रा ल्याउँदा सम्बन्धित जिल्लाका पशु सेवा कार्यालयका भेटेरिनरी निरीक्षकबाट स्वास्थ्य परीक्षण गराई प्रमाणपत्र लिएपछि मात्र ढुवानी गर्ने व्यवस्था छ । अनुगमनका क्रममा बिरामी पशु भेटिएमा अन्य पशुबाट अलग राख्न आइसोलेसनको व्यवस्था गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीका प्रमुख डा. ग्रिष्म न्यौपानेले चाडपर्वका समयमा धेरै सङ्ख्यामा पशु भित्रिने भएकाले स्वास्थ्य अवस्था, रोगको जोखिम र बिक्री वितरणलाई ध्यानमा राखेर संयुक्त अनुगमन गरिएको बताउनुभयो ।
उहाँले उपभोक्तालाई भेडाच्याङ्ग्रा खरिद गर्दा स्वास्थ्य अवस्थाबारे ध्यान दिन आग्रह गर्नुभयो । सामान्य अवस्थामा श्वासप्रश्वासको गति नबढेको, र्याल नकाढेको र चिल्लो रौँ भएको च्याङ्ग्रा छनोट गर्न उहाँको सुझाव छ ।
“लामो समय हिँडाएर वा गाडीमा ल्याइएका भेडाच्याङ्ग्रालाई एक-दुई दिनअघि नै खरिद गरेर लैजानु र बध गर्नुभन्दा कम्तीमा २४ घण्टाअघि घरमा ल्याउनु राम्रो हुन्छ,” डा. न्यौपानेले भन्नुभयो ।
पोखराको हाटबजारमा च्याङ्ग्रा प्रतिकेजी एक हजार २५० रुपैयाँसम्म र भेडा प्रतिकेजी ७०० रुपैयाँमा बिक्री भइरहेको महानगरपालिकाको पशु सेवा शाखाले जनाएको छ ।
हिमाली क्षेत्रमा चिसो हावापानीमा हुर्किएका च्याङ्ग्राको मासुको माग दसैँका बेला पोखरा तथा आसपासका क्षेत्रमा उच्च हुने गर्दछ । पोखरामा भेडाच्याङ्ग्राका अतिरिक्त सुर्खेत, अर्घाखाँची, दाङ, पाल्पा र तनहुँलगायतका जिल्लाबाट समेत ठूलो सङ्ख्यामा खसीबोका ल्याएर बिक्री गर्ने गरिन्छ ।
मुगुका व्यापारी नवराज देवकोटाले हुम्लाबाट ११ दिन लगाएर च्याङ्ग्रा पोखरा ल्याइपुर्याएको बताउनुभयो । उहाँका अनुसार केही स्थानमा पैदल हिँडाएर र केही ठाउँमा गाडीमा राखेर च्याङ्ग्रा ल्याइएको हो । यस वर्ष अविरल वर्षा र पहिरोका कारण ढुवानीमा विगतका वर्षभन्दा बढी कठिनाइ भोग्नुपरेको उहाँले बताउनुभयो ।
“यसपटक कहिले पानीले सतायो, कहिले बाढीले समस्या भयो । पहिले बजार राम्रो थियो, अहिले बजार पनि राम्रो छैन,” उहाँले भन्नुभयो ।
बाटोमा विभिन्न स्थानीय तह तथा पशु सेवा कार्यालयमा तिर्नुपर्ने शुल्क र चरनका लागि समेत रकम खर्च गर्नुपर्ने भएकाले च्याङ्ग्राको मूल्य महँगो पर्ने गरेको उहाँको भनाइ छ । रासस
