- बाढी प्रभावित क्षेत्रबाट १८६ जनालाई सुरक्षित स्थानमा सारियो ।
- उद्धार गरिएकामध्ये ३१ जना विदेशी नागरिक ।
- प्रभावित क्षेत्रमा सात हजार ८०० किलो राहत सामग्री पुर्याइयो ।
रे समाचार/काठमाडौँ । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रबाट ३१ विदेशी नागरिकसहित १८६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । नेपाली सेनाले बुधबार साँझ ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावितको उद्धार तथा राहत वितरणलाई निरन्तरता दिएको जनाएको छ ।
सेनाका अनुसार एमआई-१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट खटिएको टोलीले असोज २७ गते विभिन्न प्रभावित क्षेत्रबाट उनीहरूको उद्धार गरेको हो ।फिलिम, चुम्लिङ, आरुघाट, दोभान, विही, लाक्पाल, सल्लेरी, उहिया र केरुङ्गा क्षेत्रबाट प्रभावितलाई सुरक्षित स्थानमा पुर्याइएको सेनाले जनाएको छ ।
उद्धारका साथै बाढीले डुबानमा परेका स्थानीयका घरमा रहेका सामान सुरक्षित स्थानमा सार्ने कामसमेत गरिएको छ । सेनाले प्रभावित क्षेत्रका विभिन्न स्थानमा करिब सात हजार ८०० किलो खाद्यान्न तथा राहत सामग्री ढुवानी गरेको जनाएको छ ।
गत असोज २५ गते बुढीगण्डकी नदीमा आएको बाढीले प्रभावित क्षेत्रका बासिन्दा तथा त्यहाँ रहेका विदेशी नागरिकको उद्धार र राहतका लागि नेपाली सेनासहितका टोली परिचालन भइरहेका छन् ।
