RayNewsDaily
महँगीले खर्चिलो बन्दै दसैँ, चीनतर्फका नाका अवरुद्ध हुँदा पाँच अर्बका सामान रोकिए
  • खाद्यान्न, लत्ताकपडा र मासुजन्य वस्तुको मूल्य बढ्दा दसैँ मनाउन कठिन ।
  • चीनतर्फबाट ल्याउन लागिएका करिब पाँच अर्बका सामान नाकामा रोकिए ।
  • सरकारद्वारा दैनिक २५ देखि ५० फर्म तथा कम्पनीको बजार अनुगमन ।

काठमाडौँ । दसैँ नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाका मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड बढेको छ । भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धरा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर र पुतलीसडकलगायत क्षेत्रमा लत्ताकपडा तथा आवश्यक सामग्री किन्नेको चहलपहल बढेको हो ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि चीनतर्फका दुई नाका अवरुद्ध भएकाले अघिल्लो वर्षको तुलनामा लत्ताकपडाको मूल्य बढेको हुन सक्ने उपभोक्ताको अनुमान छ । दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्यसमेत बढेको उनीहरूको गुनासो छ ।

काठमाडौँ महानगरपालिका-३२ का शालिकचन्द्र शर्माले महँगी बढेसँगै चाडपर्व मनाउन कठिन हुँदै गएको बताउनुभयो । “जिरा मसिनो चामलको एक बोरामा नै रु तीन सय बढेको छ । दसैँमा खाने खसीको मासुको मूल्य पनि प्रतिकिलो तीनदेखि चार सय रुपैयाँसम्म बढेको छ”, उहाँले भन्नुभयो । न्यून आय भएका परिवारलाई दसैँ मनाउन मुस्किल हुने उहाँको भनाइ छ ।

तिनकुनेकी स्मिता खत्रीले पनि तीन सन्तानका लागि नयाँ लुगा किनिसकेको बताउनुभयो । “दसैँमा एकसरो लुगा त फेरिदिनुपर्‍यो नि”, उहाँले भन्नुभयो, “सीमित आयस्रोत हुनेलाई दसैँ दशाजस्तै हुने, नमनाएर पनि नहुने ।”

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले यस वर्ष खाद्यान्न, लत्ताकपडा तथा अत्यावश्यक सामग्रीको मूल्य निकै बढेको बताउनुभयो । ताजा तरकारी, फलफूल र मासुजन्य पदार्थको मूल्यसमेत आकासिएको उहाँको भनाइ छ ।

उहाँले नियमित बजार अनुगमन गरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकारका निकाय सक्रिय हुनुपर्ने बताउनुभयो । आपूर्ति शृङ्खला नियमित बनाउँदै मूल्य नियन्त्रणका लागि सरकारले हस्तक्षेप गर्नुपर्ने उहाँको सुझाव छ ।

नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले रसुवा र तातोपानी नाका अवरुद्ध हुँदा चीनबाट सामान आयात गर्न कठिन भएको बताउनुभयो । उहाँका अनुसार दसैँलगायत चाडपर्वलाई लक्षित गरी चीनबाट ल्याउन लागिएका करिब पाँच अर्ब रुपैयाँ मूल्यका सामान नाकामै रोकिएका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रितेशकुमार शाक्यले चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाइएको जानकारी दिनुभयो । विभागले दैनिक २५ देखि ५० वटा फर्म तथा कम्पनीको अनुगमन गरिरहेको उहाँले बताउनुभयो ।

“अधिकतम खुद्रा मूल्यभन्दा बढी मूल्य लिने व्यापारी तथा व्यवसायीलाई आवश्यक कानुनी दायरामा ल्याइरहेका छौँ”, उहाँले भन्नुभयो । महानिर्देशक शाक्यले सबै वस्तु तोकिएको मूल्यमा बिक्रीवितरण गर्न व्यवसायीलाई आग्रह गर्नुभएको छ । रासस

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update