- फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्म टिकट बुकिङ खुला गर्यो ।
- उडानमार्फत दुबईबाट पोखरा ३ हजार ११३ यात्रु आए, १ हजार ४२३ जना दुबई गए ।
- नियमित उडानले पोखराको पर्यटन र आर्थिक गतिविधि बढ्ने व्यवसायीको विश्वास ।
गण्डकी । पोखरा-दुबई-पोखरा उडान नियमित र दिगो हुनेमा पोखराका पर्यटन व्यवसायी विश्वस्त देखिएका छन् । फ्लाई दुबईले गत असोज ७ गतेदेखि सुरु गरेको उडानको टिकट बुकिङ सन् २०२७ अक्टोबर ३० सम्म खुला गरेपछि व्यवसायीमा थप उत्साह देखिएको हो ।
सुरुमा छ महिनाका लागि मात्र टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले अवधि बढाएर आगामी वर्षसम्म पुर्याएको छ । यसले उडान नियमित सञ्चालन हुनेमा व्यवसायीको विश्वास बढाएको छ ।
फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले दुबई-पोखरा-दुबई उडान सुरुदेखि नै उत्साहजनक रहेकाले फ्लाई दुबईले बुकिङ अवधि बढाएको बताउनुभयो ।
“आगामी वर्षसम्मका लागि बुकिङ खुला भएपछि उडान नियमित सञ्चालन हुनेमा विश्वास थप बढेको छ । यो पोखराका पर्यटन व्यवसायीलगायत सबैका लागि सुखद् विषय हो”, उहाँले भन्नुभयो ।
चाडबाडको समय भएकाले दुबईबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुबई जाने यात्रुको सङ्ख्या केही कम रहेको छ । चाडबाडपछि पोखराबाट दुबई जाने यात्रुको सङ्ख्या बढ्ने श्रेष्ठले बताउनुभयो । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्षसमेत रहनुभएका उहाँले उडान सफल बनाउन सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले असोज ७ गतेयता खराब मौसमका कारण फ्लाई दुबईको एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको जानकारी दिनुभयो ।
फ्लाई दुबईको उडान तालिकाअनुसार जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र साँझ ७ः१५ बजे दुबई प्रस्थान गर्ने गरेको छ ।
गत सोमबारसम्म फ्लाई दुबईको उडानमार्फत दुबईबाट तीन हजार ११३ यात्रु पोखरा आएका छन् । पोखराबाट एक हजार ४२३ यात्रु दुबई प्रस्थान गरेका छन् ।
उडानलाई प्रभावकारी बनाउन लागिपरेका पोखराका पर्यटन व्यवसायी तथा सम्बद्ध पक्ष उडान दिगो हुनेमा विश्वस्त र उत्साहित छन् । टिकट बुकिङ उत्साहजनक भएपछि टुर्स एण्ड ट्राभल्स व्यवसायीमा पनि उडान नियमित हुने आशा जागेको छ ।
यस उडानबाट आउने यात्रुलाई लक्षित गरी होटल तथा रेस्टुरेन्टले विभिन्न सहुलियत योजना ल्याएका छन् । फ्लाई दुबईले हाल १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजबाट दुबई-पोखरा–दुबई उडान गर्दै आएको छ ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सुरु गर्ने फ्लाई दुबई पहिलो वायुसेवा कम्पनी हो । यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तरराष्ट्रिय गन्तव्यमा चार्टर उडान गरेका थिए ।
फ्लाई दुबईको उडान सुरु भएसँगै दुबईलाई ट्रान्जिट बनाएर पोखराको हवाई सञ्जाल विश्वका धेरै मुलुकसम्म विस्तार भएको छ । यसबाट दीर्घकालीन रूपमा पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।
सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान सुरु गरेको हो ।
दुबई-पोखरा-दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो ।
सरकारले अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएको छ । विसं २०८५ भदौ मसान्तसम्म पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ । यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । रासस
