RayNewsDaily
ओमानलाई ११३ रनले हराउँदै नेपालको लगातार दोस्रो जित
  • नेपालले ओमानलाई ११३ रनले हरायो ।
  • रोहित पौडेलको सर्वाधिक ६१ रन ।
  • नेपालको अब शनिबार क्यानडासँग प्रतिस्पर्धा ।

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ शृङ्खलाअन्तर्गत नेपालले ओमानलाई ११३ रनले पराजित गरेको छ । जारी शृङ्खलामा नेपालको यो लगातार दोस्रो जित हो । नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो ।

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ-१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो ।

नेपालका पूर्वकप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६१ रन बनाउनुभयो । उहाँले ६७ बलमा तीन चौका र एक छक्का प्रहार गर्नुभयो । करण केसीले १६ बलमा चार छक्का र एक चौकासहित ४० रन बनाउनुभयो । अर्जुन कुमालले ४०, ईशान पाण्डे र बसिर अहमदले समान ३७, दीपेन्द्रसिंह ऐरीले २२ तथा सन्दीप जोराले १० रन बनाउनुभयो ।

ओमानका साह फैसल, शाकिल अहमद र करण सोनावालेले समान दुई विकेट लिनुभयो । २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटियो । ओमानका कप्तान विनायक शुक्लाले ८३ बलमा छ चौका र एक छक्कासहित ७७ रन बनाउनुभयो । जय ओडेराले २५ र जतिन्दर सिंहले १८ रन जोड्नुभयो । ओमानका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान तीन विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले समान एक विकेट लिनुभयो । नेपालले जारी शृङ्खलामा अब शनिबार क्यानडासँग खेल्नेछ । रासस

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update