RayNewsDaily
पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग   

काठमाण्डू । भोटेकोशी बाढीमा बेपत्ता हुनुभएका पत्रकार टेकराज थामीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।    
    
 नेपाल पत्रकार महासङ्घ, रासस-प्रतिष्ठान शाखाद्वारा राष्ट्रिय समाचार समिति(रासस) को केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा थामीकी श्रीमती कालिका खड्कालाई विभिन्न प्रतिस्ठानमा कार्यरत पत्रकार एवं राससकर्मीबाट सङ्कलित रकम प्रदान गरिएको हो ।    
    
 त्यस अवसरमा महासङ्घका अध्यक्ष निर्मला शर्मा र रासस प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद सापकोटाले दुई लाख ३० हजारको चेक राससकर्मी खड्कालाई हस्तान्तरण गर्नुभयो ।    
    
 कार्यक्रममा अध्यक्ष शर्माले अकल्पनीय विपद्मा परी थामीसहित तीन पत्रकार गुमाउनुपरेको बताउनुभयो । उहाँले थामी इमान्दार र सक्रिय पत्रकार भएको स्मरण गर्नुभयो । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकारका परिवारलाई केन्द्रले तत्काल सहयोगका रूपमा रु एक/एक लाख प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।    
    
 राससका महाप्रबन्धक सन्दीप राईले दुःखको घडीमा एकता र सहयोग प्रदर्शन गरिएकामा रासस शाखालाई धन्यवाद दिँदै शोकलाई शक्तिमा बदल्न पीडित परिवारलाई आग्रह गर्नुभयो ।    
    
 राससका प्रमुख समाचारदाता एकराज पाठकले रासस परिवारका एक सदस्य गुम्नु आफूहरूको पनि परिवारको सदस्य गुम्नु भएको सन्दर्भ उल्लेख गर्दै आफन्त गुमाएर पीरव्यथामा बाँचेकाहरूले आ–आफ्नो जीवन अगाडि बढाउनुपर्ने नियती भएको बताउनुभयो ।    
    
 महासङ्घको प्रतिष्ठान प्रदेशका उपाध्यक्ष एवं शाखाका पूर्वअध्यक्ष पवित्रा गुरागाईंले विपद्को समयमा आफूहरू एकजुट हुन सक्छौँ भन्ने सन्देश राससकर्मीले दिएको बताउनुभयो ।    
    
 वासिङ्टन डिसीस्थित राससका समाचारदाता मधुकर अधिकारीले दुःखको समयमा आफूहरू जहाँ रहेर पनि साथमा रहँदै आएको बताउनुभयो ।    
    
 शाखाका अध्यक्ष सापकोटाले दुःखको समयमा सामूहिकता प्रदर्शन गर्न सहयोगको आह्वान गरिएको र छोटो समयमा सबैबाट ऐक्यबद्धता प्राप्त भएको जानकारी दिनुभयो ।    
    
 गत भदौ १० गते बाढीमा बेपत्ता हुनुभएका नयाँ पत्रिका दैनिकका पत्रकार थामीको यही असोज ३ गते कुशको शव बनाएर अन्त्येष्टि गरिएको थियो । रासस   

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update