- आर्थिक अनियमितता, ठगी र खेल मिलेमतोको आरोपमा मुद्दा ।
- अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राई फरार ।
- विश्वकप टिकट अपचलन र बहराइनमा खेल सारेर रकम हिनामिना गरेको अभियोग ।
काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले निलम्बित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्षसहित चार जनाविरुद्ध आर्थिक अनियमितता, ठगी र खेलमा मिलेमतोसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ ।
सरकारी वकिलको कार्यालयले बिहीबार ललितपुर जिल्ला अदालतमा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
प्रतिवादीमध्ये कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे हिरासतमा छन् भने अध्यक्ष नेम्वाङ र महासचिव राई फरार छन् । एन्फामा आर्थिक अनियमितता, खेल मिलेमतो र फिफा विश्वकपका टिकट अपचलन गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
सरकारी वकिलको कार्यालयले अदालतमा दायर गरेको अभियोगपत्रअनुसार प्रतिवादीहरूविरुद्ध ९३ लाख ९०० रुपैयाँ बिगो कायम गरिएको छ । एन्फामा भएको आर्थिक अनियमिततालगायत विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो ।
अभियोगपत्रमा फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनोटअन्तर्गत सन् २०२४ मार्च २१ मा काठमाडौँको दशरथ रङ्गशालामा हुनुपर्ने नेपाल र बहराइनबीचको खेल नियतवश बहराइनमा सारिएको उल्लेख छ । उक्त खेल बहराइनमा खेलाएबापत त्यहाँको फुटबल सङ्घबाट टिकट बिक्रीको राजस्वस्वरूप एन्फाले पाउनुपर्ने २० हजार अमेरिकी डलर संस्थाको बैंक खातामा जम्मा नगरी अपचलन गरेको अभियोग लगाइएको छ ।
त्यसैगरी, १० लाख रुपैयाँभन्दा बढीको खरिदमा अनिवार्य टेन्डर प्रक्रिया अपनाउनुपर्नेमा एउटै स्वामित्वका तीनवटा नक्कली फर्म खडा गरी कोटेसनमार्फत खेल सामग्री खरिद गरिएको अभियोगपत्रमा उल्लेख छ । एन्फाको आर्थिक कार्यविधि, २०७५ अनुसार १० लाख रुपैयाँभन्दा बढीको खरिदमा टेन्डर प्रक्रिया अपनाउनुपर्ने व्यवस्था छ ।
फिफाले सन् २०२६ को विश्वकपका लागि एन्फालाई उपलब्ध गराएका ३३० थान अनलाइन टिकट पारदर्शी रूपमा वितरण नगरी कालोबजारी तथा व्यक्तिगत किनबेच गरिएको आरोप पनि लगाइएको छ ।
त्यस्तै, शेर्पा आउटडोरसँग भएको प्रायोजन सम्झौताअनुसार एन्फाको खातामा जम्मा हुनुपर्ने रकम संस्थाको खातामा नराखी महासचिव किरण राईले २५ लाख रुपैयाँ व्यक्तिगत रूपमा बुझेर अपचलन गरेको अनुसन्धानबाट देखिएको अभियोगपत्रमा उल्लेख छ ।
फरार रहेका अध्यक्ष नेम्वाङ र महासचिव राईका हकमा अदालतबाट म्याद जारी गर्न सरकारी वकिलको कार्यालयले अनुरोध गरेको छ ।
चारै जनाले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१ मा परिभाषित खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने कार्य गरेको र ऐनको दफा ३२ (ग) बमोजिम कसुर गरेको अभियोग लगाइएको छ । उनीहरूलाई सोही ऐनको दफा ३३ (ग) बमोजिम सजाय गर्न माग गरिएको छ । त्यस्तै, मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) अन्तर्गतको कसुरमा उपदफा (३) (क) बमोजिम सजायको मागदाबी लिइएको छ ।
अभियोगपत्रमा एन्फालाई अमेरिकी डलर ५० हजारको नेपाली रुपैयाँ ६६ लाख ५३ हजार ९०० र अमेरिकी डलर २० हजारको नेपाली रुपैयाँ २६ लाख ४७ हजार गरी कुल ९३ लाख ९०० रुपैयाँ क्षतिपूर्ति दिलाउन माग गरिएको छ । उक्त रकम सन् २०२४ मार्च ४ को विनिमय दर प्रतिडलर १३२ रुपैयाँ ३५ पैसाका आधारमा गणना गरिएको हो ।
अपराधपीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषमा प्रतिवादीहरूबाट क्षतिपूर्ति शुल्क जम्मा गराउन पनि माग गरिएको छ ।
अन्य पदाधिकारी, कर्मचारी वा व्यक्तिको संलग्नता रहेको प्रमाणसहित खुलेमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप अभियोग लगाइने अभियोगपत्रमा उल्लेख छ । त्यस्तै, प्रतिवादीहरूले कसुरबाट आर्जित सम्पत्ति अन्यत्र प्रयोग गरेको प्रमाण फेला परेमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत थप अनुसन्धान गरिने जनाइएको छ । रासस
