- पाकिस्तानलाई १९ रनले हराउँदै भारतलाई क्रिकेटमा स्वर्ण ।
- अभिषेकको ६१ र तिलकको अविजित ५१ रन ।
- हसन नवाजको ९६ रनका बाबजुद पाकिस्तान पराजित ।
नागोया । जापानको नागोयामा शनिबार भएको रोमाञ्चक फाइनलमा पाकिस्तानलाई १९ रनले पराजित गर्दै भारतले एसियाली खेलकुदको क्रिकेटतर्फ स्वर्ण पदक जितेको छ ।
भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर २११ रन बनाएको थियो । अभिषेक शर्माले ६१ तथा तिलक वर्माले अविजित ५१ रन बनाए । जवाफमा पाकिस्तानले हसन नवाजको ९६ रनको उत्कृष्ट प्रदर्शनका बाबजुद २० ओभरमा छ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो ।
भारतले टस जितेर ब्याटिङ रोजेपछि वैभव सूर्यवंशीले साद मसुदको दोस्रो ओभरमा लगातार दुई छक्का प्रहार गर्दै आक्रामक सुरुआत गरे । उक्त ओभरमा २४ रन बने पनि सूर्यवंशी चार बलपछि १५ रनमा आउट भए ।
अभिषेकले २० बलमै अर्धशतक पूरा गर्नुभयो । पाकिस्तानको कमजोर फिल्डिङको फाइदा उठाउँदै उहाँले दुई पटक जीवनदान पाउनुभयो । ४६ रनमा रहँदा उहाँ रनआउट हुनबाट समेत जोगिनुभयो ।
अभिषेक ६१ रनमा आउट भएपछि पाकिस्तानका बलरले खेलमा नियन्त्रण जमाउन थाले । इशान किशन २० तथा कप्तान श्रेयस अय्यर २१ रनमा आउट भएपछि भारत १५औँ ओभरमा १३३ रनमा पाँच विकेट गुमाएको अवस्थामा पुगेको थियो ।
त्यसपछि तिलक वर्मा र शिवम दुबेले आक्रामक ब्याटिङ गर्दै भारतको स्कोर २०० रनभन्दा माथि पुर्याउनुभयो । उहाँहरूबीच छैटौँ विकेटका लागि पाँच ओभरमा ६२ रनको साझेदारी भयो ।
हसनको उत्कृष्ट प्रयास
२१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले साहिबजादा फरहान र माज सदाकतको साझेदारीमा राम्रो सुरुआत गरेको थियो । पहिलो विकेटका लागि ३.४ ओभरमा ३३ रन जोडे पनि सदाकत २३ रनमा आउट भए ।
त्यसपछि हसन नवाजले आक्रामक ब्याटिङ गर्दै २८ बलमै अर्धशतक पूरा गर्नुभयो । उहाँले पाँच छक्का प्रहार गर्नुभयो । साइम अयूबसँग मिलेर उहाँले पाकिस्तानको इनिङ्स सम्हाल्नुभयो र दुईबीच ८७ रनको साझेदारी भयो ।
अयूब १५औँ ओभरको सुरुआतमै आउट हुँदा पाकिस्तानको स्कोर १२६ रनमा चार विकेट थियो । त्यसपछि पनि हसनले आक्रामक ब्याटिङ जारी राख्नुभयो ।
दुई ओभर बाँकी हुँदा पाकिस्तान १६८ रनमा पाँच विकेट गुमाएको अवस्थामा थियो । भारतले जस्प्रित बुमराहलाई बलिङमा फर्काएपछि उक्त ओभरमा पाकिस्तानले ११ रन मात्र जोड्न सक्यो । अन्तिम ओभरमा जितका लागि ३३ रन आवश्यक थियो ।
अन्तिम ओभरमा शिवम दुबेले बलिङ गर्नुभयो । हसन ९६ रनमा पुग्नुभएको थियो । तर अन्तिम बलमा ठूलो सट खेल्ने प्रयास गर्दा उहाँ आउट हुनुभयो । उहाँले ५१ बलमा सात छक्का र पाँच चौकासहित ९६ रन बनाउनुभयो ।
तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले बङ्गलादेशलाई ६३ रनले पराजित गर्दै कास्य पदक जितेको छ । एएफपी
