- एमबीएमसी नयाँ बानेश्वरमा आइडियाएक्स २०२६ ह्याकाथन सुरु, ६७ प्रतियोगी सहभागी ।
- जलवायु, पर्यटन, ई-गभर्नेन्स, यातायात र फिनटेक समस्या समाधानमा केन्द्रित ।
- प्रथमलाई रु. १ लाख ११ हजार १११ पुरस्कार, ४८ घण्टाको प्रतियोगिता ।
काठमाडौँ । मदन भण्डारी मेमोरियल कलेज (एमबीएमसी) नयाँ बानेश्वरमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ आजदेखि सुरु भएको छ ।
‘इनोभेसन फर इम्प्याक्ट’ नाराका साथ आयोजित यस चौथो संस्करणमा देशभरका २८ शैक्षिक संस्थाका ६७ प्रतियोगी सहभागी छन् । देशभरबाट आएका १६० टोलीमध्ये अनलाइन मूल्याङ्कनपछि २० टोली अन्तिम चरणका लागि छनोट भएका हुन् ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा सहभागी टोलीले जलवायु परिवर्तन तथा दिगोपना, पर्यटन, ई-गभर्नेन्स, स्मार्ट सहरी यातायात तथा सडक सुरक्षा र फिनटेक क्षेत्रका सामाजिक समस्याको सूचना प्रविधिमा आधारित समाधान विकास गर्नेछन् ।
उद्घाटन गर्दै कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डेले विद्यार्थीले नेपालकेन्द्रित समस्याको समाधान खोज्ने बताउनुभयो । क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले कक्षाकोठाको ज्ञानलाई वास्तविक समस्यासँग जोड्ने उद्देश्यले यो आयोजना गरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रम संयोजक नवराज जोशीका अनुसार ४८ घण्टामा टोलीले समस्या पहिचान, समाधानको नमुना तयार र प्रस्तुति गर्नेछन् । प्रथम स्थान हासिल गर्ने टोलीलाई रु. १ लाख ११ हजार १११ नगद पुरस्कार दिइनेछ । रासस
