- नेपाली सेनाले स्वर्ण पदक जित्यो ।
- ३५ देशका १३० टोली सहभागी ।
- नेपालले पाँचौँपटक स्वर्ण जित्यो ।
काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक प्राप्त गरेको छ ।
बेलायतको वेल्सस्थित ब्रेकनमा असोज २१ देखि २२ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक हासिल गरेको हो ।
संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा प्रतियोगिताको पदक वितरण गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतियोगितामा संयुक्त अधिराज्य बेलायतसहित ३५ राष्ट्रका १३० टोली सहभागी थिए । सन् १९६० देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको यस अभ्यासमा नेपाली सेना सन् २०१४ देखि सहभागी हुँदै आएको छ ।
प्रतियोगितामा सहभागी टोलीले करिब ७० पाउन्ड तौल बराबरको उपकरणसहित ४० माइल दूरी दुई दिनभित्र पार गर्नुपर्ने हुन्छ । त्यस क्रममा हतियार सञ्चालन, सूचना सङ्कलन, घाइते तथा बिरामीको व्यवस्थापनलगायत विभिन्न सैनिक कलाको परीक्षण गरिन्छ ।
यसअघि नेपाली सेनाले सन् २०१७, २०१९, २०२४ र २०२५ मा पनि उक्त प्रतियोगितामा स्वर्ण पदक हात पारिसकेको थियो । रासस
