- ११ दिनपछि राहुघाटको एक युनिट सञ्चालन ।
- २० मेगावाट विद्युत् उत्पादन सुरु ।
- दोस्रो युनिट पनि छिट्टै सञ्चालनमा ल्याइने ।
म्याग्दी । कालीगण्डकी नदीमा आएको बाढीबाट क्षतिग्रस्त राहुघाट जलविद्युत् आयोजनाबाट मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु भएको छ । असोज ११ गतेको बाढीले क्षति पुर्याएपछि ४० मेगावाट क्षमताको आयोजना बन्द भएको थियो ।
आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
आयोजनाको विद्युत्गृहबाट उत्पादित विद्युत् कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पुर्याएको थियो । नदीले धार परिवर्तन गरी स्विचयार्ड नजिकैसम्म कटान गर्नुका साथै टेलरेसमार्फत विद्युत्गृहभित्र पानी प्रवेश गर्दा डुबान भएको थियो ।
हालै निर्माण सम्पन्न भई असोजको पहिलो सातादेखि परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरेको आयोजना बाढीका कारण पूर्णरूपमा बन्द भएको थियो । विद्युत्गृहमा जम्मा भएको पानी हटाउनुका साथै क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गरी ११ दिनमा एउटा युनिटबाट उत्पादन सुरु गरिएको आयोजना प्रमुख राजबहादुर विष्टले बताउनुभयो ।
“बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गरी ११ दिनमा एउटा युनिटबाट विद्युत् उत्पादन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “२० मेगावाट क्षमताको अर्को युनिट पनि छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।”
राहुघाट जलविद्युत् आयोजनामा २०/२० मेगावाट क्षमताका दुईवटा युनिट छन् । आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।
बाढीबाट अवरुद्ध पहुँचमार्गको मर्मत गर्नुका साथै झीँ र दग्नामको सीमामा रहेको बाँध क्षेत्रमा थुप्रिएको गेग्रानसमेत हटाइएको छ ।
कालीगण्डकी नदीमा गेग्रान मिसिँदा बाढीको सतह बढेर नदीले विद्युत्गृह क्षेत्रतर्फ कटान गरेको थियो । बाढीले चीन र भारत जोड्ने बेनी-जोमसोम-कोरला सडकको करिब १५० मिटर सडकसमेत बगाएको छ । विद्युत्गृह क्षेत्रमा निर्माण गरिएको स्विचयार्ड पनि नदी कटानको उच्च जोखिममा परेको छ ।
राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सका सवारीसाधन तथा उपकरणसमेत बाढीले बगाएको छ । कालीगण्डकी नदीको बाढीले अन्नपूर्ण गाउँपालिका-१, दोवाको भिरकाटपारिका दुई तथा धिरच्याङको एउटा प्रसारण लाइनको टावर बगाएको छ ।
नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काले क्षतिग्रस्त टावर तथा प्रसारण लाइन मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको बताउनुभयो ।
दाना-खुर्कोट प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गर्दै आएका अन्नपूर्ण गाउँपालिका-४, नारच्याङका पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, ३८ मेगावाटको नीलगिरि-१, ७१ मेगावाटको नीलगिरि-२ र छ मेगावाटको रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् प्रसारणसमेत अवरुद्ध भएको छ । रासस
