RayNewsDaily
राष्ट्रसङ्घमा जलवायु न्यायका मुद्दा बलियोसँग उठायौँ :  मन्त्री खनाल
  • राष्ट्रसङ्घमा जलवायु न्यायका मुद्दा बलियोसँग उठायौँ ।
  • नेपालको कूटनीतिक छवि थप उचाइमा पुगेको मन्त्री खनालको भनाइ ।
  • महासभाका क्रममा ३३ भन्दा बढी द्विपक्षीय भेटवार्ता ।

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागिताबाट राष्ट्रिय हितका लागि महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ ।

महासभामा सहभागी भएर स्वदेश फर्किनुभएका मन्त्री खनालले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपालको कूटनीतिक छवि उच्च बनाउन र विश्व समुदायको ध्यानाकर्षण गराउन सक्रियतापूर्वक काम गरेको बताउनुभयो ।

उहाँले महासभाका क्रममा भएका विभिन्न बैठक, भेटघाट तथा छलफलमा नेपालका तर्फबाट प्रस्तुत धारणा र प्रस्तावप्रति विश्व समुदाय सकारात्मक देखिएको उल्लेख गर्नुभयो ।

“संयुक्त राष्ट्रसङ्घ महासभाको ८१औँ सत्रका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहज्यूले महासभामा गर्नुभएको सम्बोधन तथा मैले विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकमा गरेको सहभागिता र छलफलबाट नेपालको कूटनीतिक छवि उच्च भएको छ । नेपालको प्रस्तावप्रति विश्व समुदाय सकारात्मक देखिनु देशका लागि खुसीको विषय हो”, उहाँले भन्नुभयो ।

मन्त्री खनालले महासभाका क्रममा ३३ भन्दा बढी द्विपक्षीय भेटवार्ता भएको जानकारी दिनुभयो । ती भेटवार्ताले नेपालको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले आगामी दिनमा राष्ट्रहित प्रवर्द्धनका लागि नेपालको कूटनीतिलाई थप सशक्त बनाउने आधार तयार भएको बताउनुभयो ।

यसपटकको महासभामा नेपालले जलवायु न्यायसहितका विषय विश्वसामु बलियोसँग उठाएको उहाँले बताउनुभयो । भोटेकोशीको विनाशकारी बाढी तथा अन्य राष्ट्रिय र अन्तरराष्ट्रिय मुद्दामा नेपालले स्पष्ट र दरिलो धारणा राखेको भन्दै महासभाका क्रममा त्यसको चर्चा र प्रशंसा हुनु गौरवको विषय भएको उहाँको भनाइ छ ।

उहाँले प्रधानमन्त्री शाहले महासभामा सम्बोधनका क्रममा जलवायु परिवर्तन र त्यसबाट नेपालजस्ता प्रभावित मुलुकमा परेको असरबारे स्पष्ट धारणा राख्नुभएको बताउनुभयो ।

“प्रधानमन्त्रीज्यूले महासभामा सम्बोधन गर्नुभन्दा अघि पनि देशभित्र र बाहिर उत्तिकै चासो थियो । उहाँको सम्बोधनपछि पनि त्यसप्रति विश्वको चासो रहेको स्पष्ट देखियो । राष्ट्रसङ्घीय महासभामा यसपटक भएका सम्बोधनमध्ये अहिले सबैभन्दा बढी हेरिनेमा यो परेको छ”, मन्त्री खनालले भन्नुभयो ।

मन्त्री खनालले नेपालको अवस्था तथा जलवायु परिवर्तनले पारेको असरबारे प्रधानमन्त्री शाहले महासभामा र आफूले विभिन्न फोरम तथा भेटवार्तामा स्पष्ट रूपमा धारणा राखेको बताउनुभयो ।

“हामीले महासभामा सहभागिताका क्रममा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरेर फर्केका छौँ”, उहाँले भन्नुभयो । रासस

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update