RayNewsDaily
इन्जिनियर सांसदलाई विज्ञताअनुसार विकासमा योगदान दिन प्रधानमन्त्री शाहको आग्रह
  • विज्ञता र सीप विकासमा लगाउन आग्रह ।
  • दीर्घकालीन नीति र नयाँ विचारमा जोड ।
  • प्राविधिक दक्षतालाई प्राथमिकता दिन सुझाव ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

“तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीतिनिर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्”, प्रधानमन्त्री शाहले भन्नुभयो ।

Balen-meeting-MPs-1790765441.jpg
उहाँले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिनुभयो । निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन उहाँले आग्रह गर्नुभयो ।

छलफलमा सहभागी सांसदहरूलाई ‘एक्स्ट्राअर्डिनरी’ व्यक्तिका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री शाहले त्यस्ता व्यक्तिले घटना र व्यक्तिप्रधान विषयमा नभई नयाँ विचारमा केन्द्रित भएर काम गर्ने बताउनुभयो । नयाँ विचारमा काम गर्न सके पाँच वर्षमै मुलुक निर्माण गर्न सकिने धारणा उहाँले राख्नुभयो ।

छलफलमा प्रधानमन्त्रीका पूर्वाधार विकासमन्त्री सुनील लम्साल, राजनीतिक सल्लाहकार असिम शाह तथा सांसदहरू तपेश्वर यादव, जगदीश खरेल (दोलखा), आशीष गजुरेल, उज्ज्वलकुमार झा, अरविन्द शाह, धर्मराज केसी, श्रीराम न्यौपाने, सागर ढकाल, सुशील खड्का र डा राम लामाको उपस्थिति थियो । रासस

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update