RayNewsDaily
इजरायल युद्धमा मारिएका तीन जना विद्यार्थीको शव काठमाडौं आइपुग्यो   

काठमाडौं । इजरायल युद्धमा मारिएका १० नेपाली विद्यार्थीमध्ये तीन जनाको शव आज काठमाडौँ आइपुगेको छ ।    
    
इजरायल सरकारले पहिचान भएका चार शवको कानुनी प्रक्रिया पूरा गरी नेपाली दूतावासलाई बुझाएमध्ये तीन शवहरु नेपाल ल्याइएको हो । आज बिहान दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको शव नेपाल ल्याइएको हो । यसअघि गए राति कैलालीका नारायणप्रसाद न्यौपानेको शव नेपाल ल्याइएको थियो ।    
    
कैलालीका आशीष चौधरीको शव भने आज दिउँसो १ बजेतिर नेपाल आइपुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केवश साउदले जानकारी दिनुभयो । उहाँका अनुसार आज आइपुगेका तीन वटै शव नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलालीको धनगढी लैजाने तयारी भइरहेको छ ।    
    
गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ ।  रासस 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update