- काभ्रेमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुग्यो ।
- बनेपा र पाँचखालमा १३-१३ जनामा सङ्क्रमण ।
- मनसुनसँगै सङ्क्रमण फैलिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह ।
बनेपा (काभ्रेपलाञ्चोक) । जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार गत साउन १ गतेदेखि असोज १ गतेसम्म जिल्लामा ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।
जनस्वास्थ्य अधिकृत शिशिर पुडासैनीका अनुसार सबैभन्दा बढी बनेपा नगरपालिका र पाँचखाल नगरपालिकामा १३-१३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमित थपिएका छन् । पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकामा एक-एक जनामा सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।
धुलिखेल र पनौती नगरपालिका तथा भुम्लु, रोशी, तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौँरीदेउराली गाउँपालिकामा हालसम्म डेङ्गु सङ्क्रमित नरहेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दीपेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्षमा काभ्रेमा ५९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो ।
मनसुनको समयमा लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले यस वर्ष सङ्क्रमण थप फैलिन नदिन सचेतना र सरसफाइमा जोड दिइएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन, घर, आँगन तथा वरपर पानी जम्न नदिन र लामो बाहुला भएका कपडा लगाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्नेलगायतका लक्षण देखिएमा स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन कार्यालयले अनुरोध गरेको छ ।
