रे समाचार/काठमाण्डू । भारतको नयाँदिल्लीमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनमा सदस्य राष्ट्रका नेताहरूले बहुपक्षीयता, विश्व शासन प्रणालीमा सुधार, आर्थिक सहकार्य र अन्तर्राष्ट्रिय शान्तिको आवश्यकतामा जोड दिएका छन्।
सम्मेलनको पहिलो सत्रमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीनले सन् २०२७ मा ब्रिक्सको अध्यक्षता ग्रहण गर्ने बताउँदै १९औँ ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने घोषणा गर्नुभएको छ। उहाँले ब्रिक्सलाई ग्लोबल साउथको आवाज बलियो बनाउने महत्वपूर्ण मञ्चका रूपमा विकास गर्नुपर्ने बताउँदै मध्यपूर्वलगायतका द्वन्द्व समाधानमा संवाद र कूटनीतिक प्रयासलाई प्राथमिकता दिन आह्वान गर्नुभएको छ।
सम्मेलनका आयोजक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व शासन प्रणालीमा विकासशील मुलुकको प्रतिनिधित्व र भूमिका बढाउनुपर्ने धारणा राख्नुभएको छ। उहाँले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्लगायत अन्तर्राष्ट्रिय संस्थामा सुधारको आवश्यकता औँल्याउनुभएको बताइएको छ। भारत–चीन सम्बन्धका विषयमा प्रधानमन्त्री मोदी र राष्ट्राध्यक्ष सीबीच छुट्टै भेटवार्ता पनि भएको छ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, इरानका राष्ट्रपति मसुद पेजेस्कियन लगायतका नेताहरू सम्मेलनमा सहभागी हुनुहुन्छ। दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसाले संयुक्त राष्ट्रसंघको बडापत्रको सम्मान, बहुपक्षीयताको संरक्षण तथा युद्धमार्फत विवाद समाधान गर्ने प्रवृत्तिको विरोध गर्नुभएको छ।
हिजोदेखि सुरु भएको सो सम्मेलनमा विस्तारित ब्रिक्स समूहभित्र सहकार्य सुदृढ गर्ने, व्यापार तथा लगानी विस्तार गर्ने, वित्तीय सहकार्य बढाउने र विश्वव्यापी चुनौतीको सामूहिक समाधान खोज्ने विषयमा छलफल भइरहेको सिन्ह्वा न्यूज एजेन्सीले जानकारी दिएको छ ।
