- पुरातात्विक अवशेष भेटिएका किल्ला आसपासका थप जग्गा अधिग्रहण गरिँदै ।
- विश्वसम्पदा सूचीमा समावेश गर्ने आधार तयार गर्न संरक्षणको दायरा विस्तार गरिँदै ।
- अधिग्रहणपछि पुरातात्विक संरचनाको अध्ययन, अनुसन्धान र संरक्षणमा सहयोग पुग्ने ।
कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि किल्ला आसपासका थप जग्गा अधिग्रहण गरिँदैछ । तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गर्न आधार तयार गर्ने क्रममा पुरातत्व विभागले जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको हो ।
विभागका अनुसार किल्ला परिसर बाहिर गरिएको उत्खनन तथा भू-भौतिक सर्वेक्षणबाट प्राचीन संरचनाका भग्नावशेष तथा अन्य पुरातात्विक अवशेष भेटिएका छन् । ती संरचनाको अध्ययन, अनुसन्धान तथा संरक्षणका लागि त्यस क्षेत्रका जग्गा आवश्यक परेको हो ।
विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालका अनुसार साविक मालपारा-१/ख र मालपारा-४/क अन्तर्गतका विभिन्न कित्ता नम्बरका जग्गा अधिग्रहण गरिनेछ । पुरातात्विक महत्वका संरचना तथा वस्तु भेटिएका क्षेत्रलाई संरक्षणको दायरामा ल्याउन जग्गा अधिग्रहण गर्न लागिएको उहाँले बताउनुभयो ।
जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम विभागले सम्बन्धित जग्गाधनी, भू-स्वामी तथा सरोकारवालालाई सूचना जारी गरी अधिग्रहण प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ ।
भगवान् गौतम बुद्धले राजकुमार सिद्धार्थका रूपमा जीवनको २९ वर्ष बिताएको स्थलका रूपमा तिलौराकोटलाई लिने गरिएको छ । त्यहाँ भएका उत्खनन तथा भू-भौतिक सर्वेक्षणबाट किल्ला परिसर बाहिरसमेत प्राचीन संरचनाका प्रमाण फेला परेकाले संरक्षणको दायरा विस्तार गर्न लागिएको हो ।
अधिकृत खनालले थप जग्गा अधिग्रहणपछि पुरातात्विक संरचनाको विस्तृत अध्ययन, अनुसन्धान र संरक्षणका साथै क्षेत्रको व्यवस्थित व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो ।
तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गराउने प्रयासअन्तर्गत पुरातात्विक महत्वका क्षेत्रको संरक्षण र अनुसन्धानलाई प्राथमिकता दिइएको विभागले जनाएको छ । रासस
