RayNewsDaily
बुबालाई डसेकै किङ कोब्रा उद्धार गर्न अघि सरे छोरा
  • बुबालाई किङ कोब्राले डसेपछि छोरा रोशनले २० मिनेट लगाएर त्यही सर्पको सुरक्षित उद्धार गर्नुभयो ।
  • उपचारपछि तीन महिनामै राजेश फेरि किङ कोब्रा उद्धारमा फर्किनुभयो ।
  •  चार वर्षमा बाबुछोराले एक हजारभन्दा बढी सर्पको उद्धार गरिसक्नुभएको छ ।

बसन्त भण्डारी/मकवानपुर ।“बाबु, पहिला किङ कोब्रा सुरक्षित उद्धार गर, अनि बल्ल मलाई हेर्न अस्पताल आउ ।” गत जेठ १९ गते मकवानपुरको बकैया र बागमती गाउँपालिकाको सीमावर्ती देउडी डाँडामा किङ कोब्रा उद्धार गर्ने क्रममा तिघ्रामा डसेपछि हेटौँडा अस्पतालतर्फ लाग्दै गर्दा सर्प उद्धारकर्ता राजेश थापाले छोरा रोशनलाई यति भन्नुभएको थियो । बुबालाई डसेको सर्प घटनास्थलमै थियो । राजेश अस्पतालतर्फ लाग्नुभयो, रोशन भने त्यही किङ कोब्रासँग घटनास्थलमै रहनुभयो ।

त्यो राजेशले उद्धार गर्न लागेको १४औँ किङ कोब्रा थियो । यसअघि १३ वटा किङ कोब्रा सुरक्षित उद्धार गरिसक्नुभएका उहाँ करिब ११-१२ फिट लामो अनुमान गरिएको उक्त सर्पलाई नियन्त्रणमा लिने प्रयासमा हुनुहुन्थ्यो । ठाउँ अप्ठ्यारो थियो । सर्पलाई सुरक्षित नियन्त्रणमा लिने प्रयास भइरहेका बेला त्यसले उहाँको घुँडाभन्दा माथि तिघ्रामा डस्यो ।

“त्यो ट्रयापको युद्धमा चाहिँ सर्पले जित्यो”, त्यो क्षण सम्झँदै राजेशले भन्नुभयो ।

सर्पले डसेपछि उहाँलाई तत्काल अस्पताल लैजाने तयारी भयो । आफू अस्पतालतर्फ लाग्दै गर्दा पनि उहाँको ध्यान आफूलाई डसेको सर्प र घटनास्थलमा रहेका मानिसतर्फ थियो । छोरालाई सर्प सुरक्षित उद्धार गरेर मात्रै अस्पताल आउन भन्नुभयो र आफू अरूको सहयोगमा हेटौँडातर्फ लाग्नुभयो ।

अस्पताल पुग्दै गर्दा राजेशको मनमा भने अनेक कुरा खेलिरहेका थिए । सर्पदंशका घटनामा अरूलाई नआत्तिन र तत्काल अस्पताल जान सचेत गराउँदै आउनुभएका उहाँ यसपटक आफैँ सर्पदंशको बिरामी हुनुहुन्थ्यो ।

“अब जीवन रहन्छ, रहँदैन भन्ने कुरा मनमा आएको थियो”, उहाँले भन्नुभयो ।

बुबा अस्पतालतर्फ लागेपछि रोशनका लागि देउडी डाँडामा बितेका करिब २० मिनेट निकै कठिन बने । बुबाको अवस्था के हुन्छ भन्ने थाहा थिएन । अर्कोतर्फ बुबालाई डसेकै किङ कोब्रा नियन्त्रणमा लिनुपर्ने जिम्मेवारी उहाँसँग थियो ।

“मुटुको धड्कन बढिरहेको थियो, हातखुट्टा लगलग कामिरहेका थिए”, रोशनले भन्नुभयो ।

त्यसबेला रोशनका अगाडि छोराको भावना र उद्धारकर्ताको जिम्मेवारी दुवै थिए । “त्यो बेला छोरा हुनुभन्दा पनि पहिला म रेस्क्युअर हुँ भनेर मैले स्वीकार गरेँ”, उहाँले भन्नुभयो ।

आफूलाई सम्हालेर करिब २० मिनेटको प्रयासपछि रोशनले अन्ततः बुबालाई डसेको किङ कोब्रा सुरक्षित उद्धार गर्नुभयो । त्यसपछि त्यहाँ रहेका स्थानीयलाई सर्प नमार्न आग्रह गर्दै उहाँ बुबालाई भेट्न अस्पतालतर्फ लाग्नुभयो ।

राजेश भने सर्पले डसेको करिब ४० मिनेटमा हेटौँडा अस्पताल पुग्नुभएको थियो । अस्पताल पुग्दासम्म उपचारका लागि आवश्यक तयारी भइसकेको उहाँले बताउनुभयो ।

उपचारमा संलग्न डा हरि खड्काका अनुसार अस्पताल आइपुग्दासम्म राजेशमा सास फेर्न गाह्रो हुने, मुटुको धड्कनमा गडबडी आउने र रक्तचापमा उतारचढाव हुनेलगायत प्रारम्भिक लक्षण देखिन थालिसकेका थिए ।

“अझ ढिलो भएको भए अवस्था गम्भीर हुन सक्थ्यो”, डा खड्काले भन्नुभयो, “समयमै अस्पताल आइपुग्नु र चिकित्सक टोलीले तत्काल उपचार सुरु गर्नुले उहाँ गम्भीर अवस्थामा पुग्नबाट जोगिनुभयो ।”

अस्पतालको आकस्मिक कक्षमा तत्काल दुई भाइल एन्टीस्नेक भेनम दिएपछि राजेशलाई सघन उपचार कक्षमा लगिएको थियो । त्यहाँ थप १० भाइल एन्टीस्नेक भेनम दिइएपछि सर्पदंशका लक्षण क्रमशः कम हुँदै गए ।

सर्पदंशका प्रारम्भिक लक्षण नियन्त्रणमा आए पनि डसेको ठाउँको घाउले भने उहाँलाई केही समय छाडेन । घाउ निको हुन समय लागेपछि करिब दुई महिनासम्म उहाँ पहिलेजसरी सर्प उद्धारमा निस्कन सक्नुभएन । तर फोन आउन छाडेका थिएनन् । कतै घरभित्र सर्प पसेको खबर आउँथ्यो, कतै विषालु सर्प देखिएको भन्दै उद्धारका लागि बोलाइन्थ्यो । शरीरले जान नदिए पनि मन भने घटनास्थलमै पुग्थ्यो ।

निको हुँदै गएपछि उहाँ फेरि सर्प उद्धारमा निस्कन थाल्नुभयो । आफूलाई डसेको किङ कोब्रासँग फेरि कहिले सामना होला भन्ने उहाँलाई थाहा थिएन ।

त्यसको करिब तीन महिनापछि भदौ १८ गते बिहान मकवानपुरको बकैया गाउँपालिका-३ देउराली चिसापानीबाट उहाँको फोनमा फेरि किङ कोब्रा देखिएको खबर आयो । सुरुमा उहाँले स्थानीयलाई सुरक्षित दूरी कायम गर्न र सर्पलाई जङ्गलतर्फ जान दिन आग्रह गर्नुभयो । तर सर्प बस्ती आसपासमै रहेपछि उद्धारका लागि पटकपटक आग्रह आयो ।

जेठमा किङ कोब्राको डसाइ खेपेका राजेश यसपटक पनि पछि हट्नुभएन । छोरा रोशनलाई लिएर फेरि किङ कोब्रा उद्धार गर्न निस्कनुभयो । डिभिजन वन कार्यालय मकवानपुर र सब-डिभिजन वन कार्यालय हात्तीसुँडेसँग समन्वय गरेर बाबुछोरा देउराली चिसापानी पुग्नुभयो ।

“फेरि किङ कोब्रा आएको खबर सुन्दा मलाई डरभन्दा खुसी लाग्यो”, राजेशले भन्नुभयो, “त्यो घटनाबाट बाँचेर आएपछि फेरि किङ कोब्रा बचाउने अवसर मिल्यो भन्ने लाग्यो ।”

बस्ती नजिक रहेको करिब साढे सात फिट लामो अनुमान गरिएको किङ कोब्रालाई बाबुछोराले सुरक्षित उद्धार गर्नुभयो । राजेशका अनुसार त्यो उहाँले उद्धार गरेको १५औँ किङ कोब्रा थियो । १४औँ उद्धारका क्रममा उहाँ आफैँ डसिनुभएको थियो र त्यसको उद्धार रोशनले पूरा गर्नुभएको थियो ।

राजेशको सर्पसँगको यात्रा करिब चार वर्षअघि सुरु भएको हो । पेसाले पत्रकार उहाँ सर्प उद्धारकर्ता बन्ने योजनासहित यस क्षेत्रमा आउनुभएको थिएन । सर्पसम्बन्धी अध्ययन र सचेतनामूलक सामग्री तयार गर्ने क्रममा चासो बढ्दै गएपछि उहाँले यसबारे थप सिक्न थाल्नुभयो । सर्पसम्बन्धी अध्येता तथा जानकारसँगको सिकाइ र आफ्नै अध्ययनपछि उहाँ उद्धारमा जोडिनुभएको हो ।

त्यसक्रममा रोशन पनि बुबासँगै जोडिनुभयो । सुरुमा सर्पसम्बन्धी सचेतनामूलक सामग्री बनाउने बाबुछोरालाई घरमा सर्प देखिएपछि मानिसले सहयोगका लागि फोन गर्न थाले । अहिले उहाँहरू मकवानपुरसँगै बारा र पर्साका विभिन्न स्थानसम्म सर्प उद्धारका लागि पुग्ने गर्नुहुन्छ ।

राजेशका अनुसार चार वर्षको अवधिमा उहाँले विषालु र अविषालु गरी एक हजारभन्दा बढी सर्प उद्धार गर्नुभएको छ । उद्धार गरिएका सर्पलाई सम्बन्धित वन निकायसँग समन्वय गरी मानव बस्तीबाट टाढा उपयुक्त प्राकृतिक क्षेत्रमा छाड्ने गरिएको उहाँ बताउनुहुन्छ ।

यसका लागि कुनै सरकारी वा निजी संस्थाबाट नियमित तलब वा भत्ता नलिएको उहाँको भनाइ छ । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update