RayNewsDaily
इजिप्सियनलाई आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल   

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल र इजिप्टबीच द्विपक्षीय पर्यटन विकासका लागि आवश्यक सहयोग गर्न सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।    
    
नेपाल र इजिप्टबीच पर्यटन क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले दुवै देशका ट्राभल र टुर अपरेटरबीचको छलफल कार्यक्रममा उहाँले पर्यटन क्षेत्र मुलुकको विकासको प्राथमिकता प्राप्त क्षेत्र भएकाले विकास र विस्तारका लागि सरकार तयार रहेको उल्लेख गर्नुभयो ।    
इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपाल र इजिप्ट सांस्कृतिक र प्राकृतिक वैभवले सुशोभित प्राचीन सभ्यतावाहक मुलुक भएका कारण दुई देशबीच पर्यटन क्षेत्रको साझेदारीका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो ।    
    
उहाँले पर्यटन विकासका लागि निजी क्षेत्रको अहम् भूमिका रहने भएकाले दुवै देशका ट्राभल र टुर अपरेटरबीच निरन्तर संवाद तथा सहकार्यका लागि मञ्च उपलब्ध होस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।    
    
इजिप्ट पर्यटन प्राधिकरणका महाप्रबन्धक अहमद अलिले नेपाली ट्राभल एजेन्सीलाई जानकारीमूलक भ्रमण (फ्याम ट्रिप) मा स्वागत गर्न प्राधिकरण इच्छुक रहेको उल्लेख गर्नुभयो । नेपाल पर्यटन बोर्डका वरिष्ठ व्यवस्थापक सुनिल शर्मा र नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेन्टसका महासचिव कुमारमणि थपलियाले नेपालको पर्यटकीय सम्पदा र नेपाल–इजिप्ट पर्यटन सम्भावनाका बेग्लाबेग्लै प्रस्तुति गर्नुभयो । कार्यक्रममा नेपाल र इजिप्टका २० भन्दाबढी ट्राभल टुर कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।    
    
यसअघि इजिप्टमा आयोजना भएका नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रममा इजिप्सियन नागरिकको उल्लेखनीय सहभागिता रहँदै आएको छ । केही समयअघि एक विश्वविद्यालयमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा नेपालको परम्परागत कला, संस्कृति तथा प्राकृतिक विविधताबारे जिज्ञासा राख्दै प्रदर्शनमा रहेका विभिन्न वस्तु अभिरुचिपूर्वक अवलोकन गरेका थिए । विशेषगरी खुकुरी र सिङ्गिङ बाउलप्रति धेरै इजिप्सियन युवा आकर्षित हुने गरेको पाइएको छ ।    
    
खुकुरीको इतिहास एवं प्रयोगबारे जानकारी लिने एवं सिङ्गिङ बाउलको अवलोकन तथा प्रयोगात्मक अभ्यास गरी नेपालको आध्यात्मिक सम्पदासँग साक्षात्कार गर्न धेरै सहभागी इच्छुक रहने गरेको त्यहाँस्थित दूतावासले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update