RayNewsDaily
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
रसुवास्थित धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड, जहाँ दर्शन तथा भ्रमणका लागि स्वदेशी र विदेशी पर्यटक पुग्ने गर्छन् ।
  • बाढीपछि सडक मर्मतसँगै जनजीवन सामान्य बन्दै ।
  • रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय स्थलमा भ्रमण गर्न व्यवसायीको आग्रह ।
  • गल्छी-देवीघाट-त्रिशूली-बेत्रावती सडक सञ्चालनमा, होटल व्यवसाय पनि खुल्दै ।

रसुवा । भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएका सडक मर्मतसम्भार भएसँगै रसुवा र नुवाकोटका नदी तटीय क्षेत्रबाहेक अन्य स्थानको जनजीवन सामान्य बन्दै गएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण पनि सहज बनेको छ ।

रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार बाढीले क्षति पुर्‍याएका रसुवा र नुवाकोटका नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन सामान्यतर्फ फर्किएको छ । अहिले त्रिशूलीदेखि बेत्रावतीसम्म सडक यातायात सञ्चालनमा आएको छ भने शाखा सडकसमेत मर्मत तथा निर्माण गरिएको छ ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ नुवाकोट र होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाले नदी तटीय क्षेत्रबाहेक अन्य स्थान सुरक्षित र सहज रहेकाले भ्रमण गर्न आग्रह गरेका छन् । दुवै संस्थाले यसअघि उपलब्ध गराउँदै आएका सबै प्रकारका सुविधा दिन आफूहरू तयार रहेको जनाउँदै पर्यटकलाई निःसंकोच घुमफिर गर्न अनुरोध गरेका छन् ।

नागरिक समाजका अध्यक्ष तामाङले बाह्य तथा आन्तरिक पर्यटकलाई स्वागत गर्न रसुवावासी तयार रहेको बताउनुभयो । यात्राका क्रममा कुनै कठिनाइ नहुने भएकाले ढुक्क भएर भ्रमण गर्न उहाँले आग्रह गर्नुभयो ।

यसैगरी, होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाका अध्यक्ष विशाल घलेले रसुवाका धार्मिक तथा पर्यटकीय स्थल जाने सबै मार्ग सुरक्षित रहेको बताउँदै भ्रमणका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभयो ।

होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले पर्यटकीय गतिविधि, व्यावसायिक काम वा व्यक्तिगत यात्राका लागि नुवाकोट तथा रसुवा आउन चाहनेलाई अनावश्यक डर, त्रास र द्विविधा नराख्न आग्रह गर्नुभएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार बाढीपछि धादिङको पृथ्वी राजमार्गअन्तर्गत गल्छी हुँदै देवीघाट-ढुङ्गे-त्रिशूली-बेत्रावती सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । स्याफ्रुबेँसीमा फड्के पुल निर्माण गरिएको र बेलिब्रिज जडान गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

यातायात सञ्चालनमा आएको, होटल व्यवसाय पनि खुल्न थालेको र शान्तिसुरक्षाको अवस्था मजबुत बनाइएकाले यात्रा गर्न असहज नहुने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक ३, २०८३  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update