RayNewsDaily
बूढीगण्डकीको बाढीले पुल र पदमार्ग बगाएपछि चुम उपत्यकामा ८० भन्दा बढी पर्यटक अलपत्र
चुम उपत्यकाको मनमोहक दृश्य ।
  • बाढीले पुल र पदमार्ग बगाउँदा आवागमन ठप्प ।
  • केही पर्यटकको नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गर्दै ।
  • अलपत्र पर्यटकको उद्धारलाई प्राथमिकता दिइएको ।

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले विभिन्न ठाउँका पुल तथा पदमार्ग बगाएपछि चुम उपत्यका पुगेका ८० भन्दा बढी पर्यटक अलपत्र परेका छन् ।

स्थानीय होटल व्यवसायी उपसमितिका संयोजक गणेश कार्कीका अनुसार हिँडडुल गर्न र गन्तव्यतर्फ जान नपाएपछि पर्यटक त्रासमा छन् । उहाँले केही पर्यटकलाई आज बिहानैदेखि नेपाली सेनाको ठूलो हेलिकप्टरमार्फत उद्धार गरिरहेको जानकारी दिनुभयो ।

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार चुम उपत्यकामा अहिले ८० भन्दा बढी पर्यटक छन् । आवागमन बन्द भएपछि पर्यटक आत्तिएको छेकम्पारका होटल व्यवसायी दोर्जे लामाले बताउनुभयो ।

“कतै हिँडडुल गर्न पाएका छैनन् । कसैको भिसा सकिन लाग्यो भनेर आत्तिएका छन् । कोही नाकाबन्दी भयो भनेर आत्तिएका छन्,” उहाँले भन्नुभयो ।

यस परिस्थितिमा पर्यटकको उद्धारका लागि हेलिकप्टरले उडान अनुमति लिइरहनु नपर्ने निर्णय सरकारले गरेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिनुभयो ।

“पर्यटकलाई आपत्कालीन अवस्था भए उनीहरूकै कम्पनीले उद्धार गर्न सक्छ । नत्र सरकारले आफ्नै कार्यसूचीअनुसार उद्धार गर्छ,” उहाँले भन्नुभयो ।

बाढी प्रभावित क्षेत्रमा अलपत्र परेकाहरूको उद्धार कार्यलाई अहिले प्राथमिकता दिइएको उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update