RayNewsDaily
थाइल्यान्डको भिसा प्रक्रियामा ढिलाइले नेपाली यात्रु र व्यवसायीलाई आर्थिक जोखिम, नाट्टाद्वारा कूटनीतिक पहलको माग
एआई निर्मित सांकेतिक तस्वीर ।
  • भिसा निर्णयमा ढिलाइ हुँदा लाखौँ डलर जोखिममा परेको नाट्टाको दाबी ।
  • थाइल्यान्डका नयाँ टुर प्याकेज र समूह बुकिङ रोक्ने चेतावनी ।
  • भिसा प्रक्रियामा सुधार गर्न सरकारसँग कूटनीतिक पहलको माग ।

रे समाचार/काठमाडौँ । थाइल्यान्डको विद्यमान पर्यटक भिसा प्रणालीका कारण नेपाली यात्रु तथा ट्राभल व्यवसायीले असहजता र ठूलो आर्थिक जोखिम भोग्नुपरेको भन्दै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले तत्काल समस्या समाधान गर्न माग गरेको छ ।

नाट्टाका अनुसार भिसा निर्णयमा अत्यधिक ढिलाइ हुने र भिसा स्वीकृत हुने निश्चितता नहुँदा नेपाली यात्रु तथा व्यवसायी आर्थिक जोखिममा परिरहेका छन् । भिसा आउने सुनिश्चितता नभए पनि यात्रुले अग्रिम हवाई टिकट र होटल बुकिङ गर्नुपर्ने बाध्यता रहेको नाट्टाले जनाएको छ ।

थाइ एयरवेज र थाइ लायन एयरलगायतका वायुसेवाका धेरै सस्तो भाडादरका टिकट फिर्ता नहुने (नन रिफन्डेबल) वा रद्द गर्दा उच्च शुल्क लाग्ने प्रकृतिका छन् । सबै कागजी प्रक्रिया पूरा गर्दा पनि भिसा अस्वीकृत हुने वा यात्राको निर्धारित मिति सकिएपछि मात्र निर्णय आउने घटनाले नेपाली यात्रु तथा व्यवसायीको लाखौँ अमेरिकी डलर जोखिममा परेको नाट्टाको दाबी छ ।

नाट्टाले विश्वव्यापी रूपमा मान्यता प्राप्त अनलाइन बुकिङ प्लेटफर्म तथा व्यावसायिक रिजर्भेसन प्रणालीमार्फत गरिएको बुकिङलाई पर्याप्त नमान्दै सम्बन्धित होटलबाट छुट्टै पुष्टि पत्र (कन्फर्मेसन लेटर) माग्ने प्रक्रियाले पनि समस्या थपेको जनाएको छ ।

आर्थिक जोखिम र कूटनीतिक पहलको माग

भिसा आउनुअघि नै अग्रिम भुक्तानी गर्नुपर्ने, बुकिङमा थप सर्तहरू राखिने र भिसा अस्वीकृत हुँदा वा समयमा निर्णय नआउँदा रकम फिर्ता नहुने अवस्थाले आर्थिक शोषणको आशङ्का बढाएको नाट्टाले जनाएको छ ।

भिसा प्रक्रियाबाट नेपाली यात्रु र व्यवसायी आर्थिक रूपमा प्रभावित भइरहँदा अन्य पक्षले आर्थिक लाभ लिइरहेको हुन सक्ने आशङ्कालाई ध्यानमा राख्दै निष्पक्ष छानबिन गर्नुपर्ने नाट्टाको माग छ ।

नाट्टाले कुनै पनि मित्रराष्ट्रको भिसा नीति र सार्वभौम अधिकारको सम्मान गर्ने स्पष्ट पार्दै भिसा निर्णयको सम्पूर्ण आर्थिक जोखिम नेपाली यात्रु र व्यवसायीमाथि मात्र थोपर्ने व्यवस्था स्वीकार्य नहुने जनाएको छ ।

यस विषयमा नाट्टाले रोयल थाई एम्बेसीसमक्ष तत्काल उच्चस्तरीय आपत्कालीन बैठकका लागि पत्राचार गर्नुका साथै निरन्तर पहल गरिरहेको जनाएको छ । तर, राष्ट्रिय चाडपर्व नजिकिँदै गर्दा समस्या समाधानमा ढिलाइ भए यात्रुको वित्तीय क्षति थप बढ्ने नाट्टाको भनाइ छ ।

थाइल्यान्डलाई ‘ब्ल्याकलिस्ट’ गन्तव्य घोषणा गर्ने चेतावनी

थाइल्यान्डका लागि पारदर्शी, व्यावहारिक, समयबद्ध र आर्थिक रूपमा न्यायोचित भिसा प्रणाली कायम नभए आफ्ना सदस्य एजेन्सी तथा नेपाली पर्यटन व्यवसायको लगानी र उपभोक्ताको हित संरक्षणका लागि थाइल्यान्डलाई आउटबाउन्ड पर्यटनको ‘ब्ल्याकलिस्ट’ गन्तव्य घोषणा गर्न बाध्य हुने नाट्टाले चेतावनी दिएको छ ।

नाट्टाले समस्या समाधान नभए निम्न लिखित कदम चाल्ने जनाएको छ :

  • थाइल्यान्डका नयाँ टुर प्याकेजको बिक्री, वितरण तथा प्रवर्द्धन पूर्ण रूपमा स्थगित गर्ने ।

  • विज्ञापन, डिजिटल मार्केटिङ तथा सार्वजनिक प्रवर्द्धनात्मक कार्यक्रम रोक्ने ।

  • नयाँ समूह बुकिङ तथा टुर सिरिज सञ्चालन पूर्ण रूपमा बन्द गर्ने ।

  • नेपाली यात्रुलाई सुरक्षित, सहज र वैकल्पिक अन्तर्राष्ट्रिय गन्तव्य रोज्न प्रोत्साहित गर्ने ।

सरकारसँग तत्काल कूटनीतिक पहल गर्न आग्रह

नेपाली ट्राभल एजेन्सीहरूले दशकौँदेखि थाइल्यान्डलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्दै त्यहाँको पर्यटन उद्योगमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको नाट्टाले जनाएको छ । त्यसको बदलामा नेपाली यात्रुले सम्मानजनक, समयबद्ध र न्यायोचित भिसा प्रक्रिया पाउनु स्वाभाविक अधिकार भएको नाट्टाको भनाइ छ ।

नाट्टाले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एवं सम्बन्धित कूटनीतिक निकायलाई थाइल्यान्ड सरकार र रोयल थाई एम्बेसीसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्न आग्रह गरेको छ ।

भिसा प्रक्रियाको वास्तविक अवस्था स्पष्ट पार्न, आवश्यक छानबिन गर्न र नेपाली यात्रु तथा व्यवसायीलाई थप आर्थिक क्षतिबाट जोगाउने व्यावहारिक समाधान खोज्न नाट्टाले जोडदार माग गरेको छ ।

नाट्टाका महासचिव राजकुमार देवकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भिसाको ग्यारेन्टी छैन भने जबर्जस्ती आर्थिक जोखिम पनि स्वीकार्य छैन ।”

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update