- तिनाउमा जिप दुर्घटना हुँदा १० जना घाइते ।
- घाइतेमध्ये चार वर्षीय बालकको अवस्था गम्भीर ।
- घाइते सबैको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको ।
रे समाचार/तानसेन । पाल्पाको तिनाउ गाउँपालिका-४ चिउरीडाँडास्थित झुम्सा-सत्यवती सडकखण्डमा जिप दुर्घटना हुँदा चार वर्षीय बालकसहित १० जना घाइते भएका छन् ।आज बिहान बुटवलतर्फ जाँदै गरेको लु.१ ज २२३७ नम्बरको मुस्ताङ जिप दुर्घटना भएको हो ।
दुर्घटनामा तिनाउ-३ सत्यवतीका ३६ वर्षीय खुमबहादुर दिसुवा, स्याङ्जाको कालीगण्डकी गाउँपालिका-१ का १० वर्षीय सन्तोष रेश्मी, तिनाउ-३ सत्यवतीका ५१ वर्षीय नरसिंह दिसुवा र ३६ वर्षीया शर्मिला दिसुवा घाइते हुनुभएको छ ।
दुर्घटनास्थलको एआई निर्मित नक्सा ।
यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका-१८ का ३६ वर्षीय दुर्गा थापा, उहाँका चार वर्षीय छोरा डेनिस थापा, माथागढी गाउँपालिका-५ का ४१ वर्षीय मनबहादुर गाहा, बुटवल उपमहानगरपालिका-१८ की ३६ वर्षीया सपना राना, जिप चालक माथागढी गाउँपालिका-५ का ३९ वर्षीय देवकुमार घर्ती र स्याङ्जाको कालीगण्डकी गाउँपालिका-१ का भुवनसिंह रेश्मी घाइते हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार घाइतेमध्ये चार वर्षीय डेनिस थापाको अवस्था गम्भीर रहेको छ । घाइते सबैको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
